ई आर्थिक, काठमाडौँ। जोन्टा क्लब अफ काडमाडौंले जोनसियन कमल तुलाधारको संयोजकत्वमा दैनिक ज्याला मजदुरहरूलाई खाद्यान्न प्याकेजहरू वितरण गरेर कोभिड—१९ संकटको सामना गर्न मद्दत गरिरहेको छ ।
उक्त प्याकेजमा चामल, दाल गेडागुडी, खाने तेल, चिउरा, नुन, चिनी र चियापत्ती रहेको छ । हालसम्म जोन्टाले बिजयश्वरी, बुढानिलकण्ठ, ढल्को, जागृतिनगर, जोरपाटी, लिलि, महान्काल, नागरजुन, शंखमुल, सिनामङ्गल, थली, थापाथली, टोखा नगरपालिका र टेकु (बागमती क्षेत्र) का दैनिक ज्याला मजदुरहरुलाई १००० खाद्यान्न प्याकेजहरु वितरण गरिसकेको छ । जोन्टाले विकल्प, नेपाल महिला समाज, फुड फर लाइफ, आईसीडीओ, स्काई फाउन्डेशन र प्रन्डस् संगठनहरुसँग साझेदारी गरेको बताएको छ । जोन्टाले आगामी दिनहरुमा पनि खाद्यान्न प्याकेजहरु वितरण गर्न जारी राख्ने बताएको छ ।
सन् १९१९ मा स्थापना भएको जोन्टा इन्टरनेशनल व्यावसायिकहरुको एक अग्रणी ग्लोबल संस्था हो जुन सेवा र वकालतको माध्यमबाट विश्वव्यापी महिला सशक्तिकरणमा लागि परेको छ । जोन्टा इन्टरनेशनलको छाता अन्तर्गत जोन्टा क्लब अफ काठमाडौं सन् २०१२ मा स्थापना भएको थियो । यो काठमाडौंमा कानुनी रुपमा दर्ता गरिएको गैर–नाफा मुलक संस्था हो जसले महिलाहरुको आर्थिक अवस्था, शिक्षा, स्वास्थ्य, स्थानीय तथा राष्ट्रिय स्तरका युवा र महिला हिंसा तथा बाल विवाहसँग सम्बन्धित मुद्दाहरु सुधार गर्ने उद्देश्यका साथ महिलाहरुको स्तर उन्नतिका लागि काम गरिरहेको छ ।