ई–आर्थिक, काठमाडौं । सिभिल बैंकका प्रमुख सञ्चालन अधिकृत भेषराज खतिवडाले सिभिल बैंक छाडेका छन् । सिभिल छाडेर उनी एन आई सी एशिया बैंकमा पुगेका हुन् । एन आई सी एशियामा उनले सहायक प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हाल्ने छन् । सिभिलमा उनी बरियताक्रममा चौथो तहमा कार्यरत थिए । उनको स्थानमा सिभिलले अहिलसम्म कसैलाई पनि नियुक्त नगरेको बैंक स्रोतले जानकारी दिएको छ ।
विभिन्न बैंक वित्तीय संस्थामा गरी उनीसँग २६ बर्षको अनुभव रहेको छ । बैंक वित्तीय क्षेत्रमा खतिवडाको दुई दशक बढीको अनुभवले बैंकको ख्याती र प्रगतिले अझ् गति लिन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ । नबिल बैंकबाट बैंकिङ क्यारियर सुरू गरेका खतिवडाले यसअघि पनि एन आई सी एशिया बैंकमा स्थापनाको समय देखी १२ बर्ष काम गरिसकेको अनुभव रहेको छ । उनी सिभिल जानु अघि भने उनी प्रभु बैंकमा थिए ।

किष्ट बैंक प्रभुमा गाभिनु अघि उनी किष्ट बैंकको माथिल्लो व्यवस्थापन तहमा कार्यरत थिए । कमल ज्ञवाली समस्यामा परेपछि खाली भएको प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारीमा थिए । खतिवडाले तत्कालिन किष्ट बैंकमा केही समय निमित्त प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी सम्हालेका थिए ।
एन आई सी बैंकले पछिल्लो पटक खतिवडालाई माथिल्लो व्यवस्थापन तहमा नियुक्ती दिएको छ । रोशनकुमार न्यौपाने प्रमुख कार्यकारी अधिकृत रहेको सो बैंकमा नायब प्रमुख कार्यकारी अधिकृतमा सुधिरनाथ पाण्डे रहेका छन् ।

सिभिल बैंक छाडेपछि उनले फेसबुकमा सार्वजानिक गरेको ग्रुप फोटो ।
त्यसैगरी खतिवडा समेत बैंकमा विभिन्न विभागको जिम्मेवारी सम्हालेका ५ जना सहायक प्रमुख कार्यकारी अधिकृत रहेका छन् । ५ सहायक प्रमुख कार्यकारी अधिकृतको बरियताक्रममा खतिवडा कुनमा पर्ने हो बैंकले यकिन भने गरिसकेको छैन । यद्यपी उनको अनुभवको आधारमा राम्रै जिम्मेवारी सम्हाल्ने गरी खतिवडा आएका एन आई सी बैंक स्रोतले जानकारी दिएको छ । बैंकमा खतिवडा सहित सन्तोषकुमार राठी, राजेश रावल, कपिल ढकाल र जयेन्द्र रावल सहायक प्रमुख कार्यकारी अधिकृत रहेका छन् ।