शिवप्रसाद सिटौला अध्यक्ष, नबकान्तिपुर बहुउद्देश्यीय सहकारी संस्था लि.
काठमाडौंको वत्तिसपुतलीमा रहेको नवकान्तिपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड सहकारी क्षेत्रमा नाम चलेको र स्थापित संस्थामा पर्दछ । यो संस्था आफ्नो सेवाकालको २१ बर्ष पुरा गरी २२ औं बर्षमा प्रवेश गरेको छ । संस्थाको २२ औं स्थापना दिवस तथा साधारणसभाले शिवप्रसाद सिटौलालाई अध्यक्षमा चयन गरेको थियो । अध्यक्षमा सिटौलाले स्थानीय निकायको समन्वयमा सहकारी अझ फस्टाउने बातावरण बन्नुपर्ने वताउनुभयो । उहाँसँगको विस्तृत कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।
नवकान्तिपुर बहुउद्देश्यीय सहकारी २२ औं बार्षिकोत्सवसम्म आइपुग्दा संस्थाले गरेको प्रगति कस्तो रहेको छ ?
नवकान्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाको २१ बर्ष सफलतापूर्वक पुरा भई २२ औं बर्षमा प्रवेश गरेको छ । संस्थाको २२ बर्षे कार्यकाल अत्यन्तै सफल र उत्साहजनक भएको छ । संस्थामा आवद्ध सदस्यहरुको अपार विश्वास र सहभागिता तथा संस्थाका संचालक र कर्मचारीहरुको ईमान्दार प्रयासले गर्दा संस्थाले निरन्तर सफलता हासिल गर्दै आएको छ । यसबीचमा संस्था र यसका सदस्यहरु, कर्मचारीहरु अनुभवले खारिएर परिपक्व भएका छन् । अझ भन्नुपर्दा संस्थाको सिस्टमनै व्ववस्थित र प्रभावकारी बनेको छ । अहिले आधुनिक प्रविधिको उपयोग, दक्ष जनशक्ति र व्यापक सदस्य सहभागीताको समिश्रण नै नवकान्तिपुर र नवकान्तिपुरको सफलता हो भन्दा त्यत्ति फरक नपर्ला ।
यस बीचमा संस्थाले निक्षेप संकलन, कर्जा लगानी र सेयर पूँजी कति पु¥याएको छ ?
हालसम्म आईपुग्दा संस्थाले २ अर्ब ५ करोड ८९ लाख ८५ हजार २८८रुपैयाँ बचत निक्षेप संकलन, १ अर्ब २४ करोड ११ लाख ३० हजार ८१७ रुपैयाँ कर्जा लगानी गरेको छ । त्यसैगरी संस्थाको सेयर पूँजी ६ करोड १८ लाख ९३ हजार ८०० रुपैयाँ पुगेको छ भने जगेडा कोष तथा अन्य कोषहरु रु १२ करोड ५८ लाख २५ हजार ७०१ रुपैयाँ पु¥याउन सफल भएको छ । त्यस्तै संस्थाले ४ करोड ३३ हजार ६३४ नाफा आर्जन गर्न सफल संस्थाले आफ्ना सदस्यहरुलाई १८ प्रतिशतको दरले लाभांश दिएको छ ।
संस्थावाट सेयरधनीले संस्थाबाट कत्तिको लाभ लिन सफल भएका छन ?
संस्थामा रहेका सबै सदस्यहरुले संस्थाबाट सदस्यमूखि सेवा प्राप्त गरिरहनुभएको छ । प्रतिस्पर्धी बजार अनुरुप संस्थाबाट आर्थिक लाभ पनि राम्रै लिइरहनुभएको छ । यसबाट संस्थाका सेयरधनीहरु सन्तुष्ट हुनुभएको होला भन्ने हामीलाई लागेको छ ।
संस्थाले कस्तो क्षेत्रमा लगानी गरेको छ ? असूलीको अवस्था कस्तो रहेको छ ?
संस्थाले साना र मध्यम किसिमका व्यवसायिक क्षेत्रहरुमा बढि लगानी गरेको छ । त्यस्तैगरी आवास, शैक्षिक, घर जग्गालगायत केही लगानी हायर पर्चेज जस्ता क्षेत्रमा लगानी गरेको छ । संस्थाले लगानी गर्ने परियोजनाको भविष्य, धितोको मूल्यांकन, तिर्न सक्ने स्रोत, लगानीको जोखिम र लगानी गर्न लागेको व्यक्तिको पृष्ठभूमि आदीलाई मूल्यांकन गर्दै लगानी गर्ने भएकाले असूलीमा कुनै समस्या देखिएको छैन ।
संस्थाको कार्यक्षेत्र भएको स्थानमा सहकारी संस्थाको संख्या बाक्लै रहेको छ । यसले नबकान्तिपुरको कारोवारलाई कत्तिको असर गरेको छ ?
प्रतिस्पर्धा संस्था र सदस्यको हितमा नै हुन्छ जस्तो लाग्छ । जति संख्या बढि हुन्छ त्यति नै संस्थाहरु सदस्यमूखि हुन्छन् । सहकारी संस्थाको संख्या बढेसंगै यसमा जनसहभागीता र प्रतिस्पर्धा पनि बढ्ने हुँदा संस्थालाई प्रतिस्पर्धी रुपमा अगाडि बढ्ने मौका मिल्ने र सदस्यहरुलाई पनि सेवामा अब्बल संस्था छान्ने अवसर प्राप्त हुने हुँदा यसले संस्थामा नराम्रो असर गर्दैन । जहाँसम्म नवकान्तिपुरको कुरा यहाँले जोड्नुभयो यसले संस्थालाई अझ खारिने मौका मिलेको छ र सदस्यहरुको भनाईलाई नै आधार मान्ने हो भने पनि संस्थाले दिईरहेको सेवा एकदम चुस्त र समय सापेक्ष रहेको छ । यस्तै सेवा नवकान्तिपुरबाट सँधै पाईयोस भन्ने उहाँहरुको चाहना रहिआएको छ । प्रतिस्पर्धाको असर नवकान्तिपुरमा छैन ।
सदस्यहरुलाई आकर्षित गर्ने नबकान्तिपुरका सेवा तथा विशेषता के कस्ता रहेका छन ?
संस्थाले समयसापेक्ष र सदस्यहरुको चाहना अनुरुपका सेवाहरु संचालन गर्दै आएको छ । संस्थामा हाल साधारण बचत, सुपर बचत, नारी बचत, बाल बचत, जेष्ठ नागरिक बचत, सेभिङ्ग प्लस, कर्मचारी बचत तथा गोल्डेन बचत जस्ता बचतका योजनाहरु संचालित छन् त्यसैगरि ३ महिना देखि ३ बर्ष सम्मका आवधिक बचत सञ्चालनमा रहेको छ । त्यस्तै विदेशबाट तथा देशभरबाट रकम पठाउन र प्राप्त गर्न विभिन्न आधा दर्जन भन्दा बढी रेमिट्यान्स कम्पनीसंगको सहकार्यमा रेमिट्यान्स सेवा समेत प्रदान गरिएको छ । यसका अतिरिक्त सदस्यहरुलाई वित्तीय सल्लाह, एसएमएस तथा इन्टरनेटमार्फत कारोवारको जानकारी, संस्थाको जुनसुकै शाखाबाट कारोवार गर्न मिल्ने व्यवस्था गरिएको छ । प्रविधि मार्फत संस्था र सदस्यहरुको दुरी कम गर्ने गरि विभिन्न सूचना प्रणाली स्थापना गर्ने योजना गरेका छौं । साथै मोवाईल एप्लिकेशनको माध्यमबाट सदस्यहरुको कारोवार सहजता बनाइदिएका छौं । त्यस्तै एटीएम सेवा सुरु गर्ने नेपालका धेरै कम सहकारीमा नवकान्तिपुर पर्छ । हामीले गौशालामा एटीएम काउण्टर स्थापना गरी सदस्यलाई वित्तीय पहुँचमा अझ सहज र प्रभावकारी बनाएका छौं ।
नबकान्तिपुर बहुउद्देश्यीय सहकारीको समग्र अवस्था कस्तो छ ?
नबकान्तिपुर सहकारी क्षेत्रमा तुलनात्मकरुपमै बलियो छ । भरपर्दो र विश्वासिलो पनि छ । त्यसैले पनि बर्षौदेखिका सदस्यहरुले हामीसँग निरन्तर सेवा लिइरहनुभएको छ । त्यो हाम्रो उत्कृष्ट व्यवस्थापकीय पक्षको सफलता कारण ठान्दछु । संस्थाको सेवा सदस्यमूखिका साथै चुस्त र दुरुस्त छ । संस्थाको कारोबार कुनै मध्यम खालको बैंक वित्तीय संस्थाको भन्दा पनि कम छैन । संस्था निरन्तर नाफामा सञ्चालित हुँदै आएको छ भने सदस्यहरुलाई उचित प्रतिफल प्रदान गर्न संस्था सफल भएको छ ।
संस्थाको भावि योजना तथा कार्यक्रम के कस्ता छन ?
संस्थाले प्रदान गरिरहेका सेवाहरु आगामी दिनहरुमा अझ व्यवस्थित र चुस्त ढंगले अगाडि बढाउने, सरकारी नीति नियम र मापदण्ड अनुरुप संस्थाको कारोवारलाई व्यवस्थित गर्दै नवकान्तिपुरलाई समाजको एउटा अग्रणी र नमुना सहकारीको रुपमा स्थापित गर्ने लक्ष्य रहेको छ ।
समग्र सहकारीको अहिलेको वर्तमान अवस्था कस्तो पाउनुभएको छ ?
विगतमा एकआध सहकारी बाटो विराएर र व्यवस्थापकीय असक्षमताको कारणले समस्या परे । तर त्यसबाट अन्य सहकारीले पाठ सिक्न थालेपछि सहकारी संस्थामा दुर्घटना हुने क्रम रोकिएको छ । यो क्षेत्रमा सवाधानी अपनाउन थालेको मैले पाएको छु । सहकारी क्षेत्रमा अब यस्तो खबर सायदै सुनिएला । सहकारी आन्दोलन नै प्रगतितर्फउन्मूख छ । समग्रमा सहकारीको अवस्था सन्तोषजनक रहेको छ । अब देशमा सहकारीमार्फत सम्बृद्धि खोजिनु पर्छ भन्ने चेतनाको विकास भएको छ । सहकारीमार्फत मुलक समृद्ध हुने प्रसस्तै आधार भएकाले पनि यो संभव पनि छ । सबै सम्बन्धित निकायहरु सोही अनुरुप लाग्नु पर्छ । सहकारीमा भएको संभावनालाई परिपूर्ति गर्न सहकारी ऐन नियम र मापदण्डमा समसामयीक सुधारको खाँचो देखेको छु ।
सहकारीमा चुनौति र सम्भावनामा कुन बढी देख्नुभएको छ ?
सहकारी क्षेत्रमा चुनौति भन्दा बढी सम्भावना छन । नेपालको आर्थिक संरचना विकास गर्न साना साना पूँजीको संचालन धेरैमात्रामा गर्नुपर्ने देखिन्छ । सहकारीले गाउँ शहर दुवैमा रहेका तल्लो आर्थिकस्तर भएका वर्गमा सजिलै पहुँच पु¥याउन सक्दछ । सदस्यहरुलाई बचत गर्ने बानिको विकास गर्न सकिन्छ । बचत तथा कर्जा परिचालन र घरदैलोमै सेवा, छिटो छरितो तरिकाबाट दैनिक सेवा दिने परिचित व्यक्तिहरुबाट प्राप्त हुन सक्दछ । सदस्यहरुको समय र मेहनत बचत गर्न सकिन्छ । सहकारीले सर्वसाधारणलाई बचत गर्ने बानिको विकास गराउनुका साथै उद्यमशील बनाउने कार्यमा महत्वपूर्ण भूमिका निर्वाह गर्छ । आर्थिक गतिविधि बढाउन र राष्ट्रलाई समृद्ध बनाउने सहकारी नै भरपर्दो माध्यम बन्नसक्छ । अब सहकारी मोडलबाट नै मुलुकको विकासका आधार तयार गर्नुपर्छ । जहाँ संभावना हुन्छ, त्यहाँ चुनौति पनि हुन्छन । तर चुनौतिलाई सहिरुपमा व्यवस्थापन गर्न सके अवसरको रुपमा परिणत गर्न सकिन्छ । त्यसतर्फ सबै सहकारीको ध्यान जानुपर्छ ।
सहकारीका आगामी दिन कसरी अगाडि बढ्ला जस्तो लाग्छ ?
नेपालमा अभियानको रुपमा सहकारीको विकास हुन थालेको पनि धेरै भएको छैन । खासगरी २०४८ सालमा सहकारी ऐन लागू भएपछि यस क्षेत्रमा आम सर्वसाधारणको चासो बढ्न थालेको हो । सहकारीका सेवा सुविधा, गतिविधि तथा राज्यलाई पु¥याएको योगदानको कदर गर्दै राज्यबाट महत्वपूर्ण तेस्रो मध्येको एकका रुपमा सहकारी क्षेत्र स्थापित हुन सफल भएको छ । यसलाई सहकारी आन्दोलनकै महत्वपूर्ण उपलब्धिका रुपमा लिनुपर्छ । यति हुँदा हुँदै पनि देश विभिन्न आरोह अवरोहका कारण सहकारी क्षेत्र पनि केही अलमलमा परेजस्तो अनुभव भएको छ । देशमा नयाँ संविधान आएसँगै अब अबरोध भएका विकासका बाटोहरु विस्तारै खुल्ला हुदै गएका छन् । आगामी दिनमा अन्य क्षेत्रले भन्दा यो क्षेत्रले राम्रो ‘स्पिड’ लिने देखिन्छ । राज्यले सहकारीलाई हेर्ने दीर्घकालिन दृष्टिकोण प्रष्ट भयो भने यो क्षेत्र अझ बढी व्यवस्थित, सहभागीतामुलक र उत्पादनमुलक हुदै जानेछ । संघियता कार्यन्वयनसँगै पछिल्लो समयमा सहकारीलाई प्रबद्र्धन र मार्गनिर्देशन गर्ने जिम्मा डिभिजन सहकारीको बदलामा स्थानीय निकायले पाएको छ । स्थानीय निकायले सहकारीलाई थप व्यवस्थापन गर्ने काम पनि गरिरहेको छ । स्थानीय निकायको समन्वयमा सहकारी क्षेत्रले अझ गति लिने विश्वास लिएको छु ।
नेपालमा सहकारीको भविष्य कस्तो देख्नुहुन्छ ?
ग्रामीण जनसंख्या धेरै भएको, कृषि व्यवसायमा संलग्न जनसंख्या धेरै भएको र न्यून आय भएका जनसंख्या पनि धेरै भएको हुँदा त्यस्तै वर्गमा पहँुच राख्न सहज माध्यम भनेकै सहकारी हो । त्यसैले पनि सहकारी व्यवस्था एक मात्र र निर्विकल्प शर्त हो । यसबाट सदस्य पेशागत संस्थामा संलग्न हुने, आफ्नो उत्पादन बढाउने लगायत उत्पादन मुलक क्षेत्रको विकास हुने र नयाँ प्रविधि बुझ्न पाउँने, ढुवानी र बजार मूल्य समयमै पाउँने आदि उत्पादन देखि उपभोगमा समेत संगठीत रुपमा गर्न सक्षम हुन्छ । त्यसैले आगामी दिनमा देशमा उत्पादनमा सहकारीकरण, वितरणमा सहकारीकरण भएमा सहकारीको भविष्य राम्रो हुने देखेको छु साथै उपभोग्यमा सहकारीकरण, रोजगारमा सहकारीकरण, प्रवद्र्धनमा सहकारीकरण, प्रसारणमा सहकारीकरण, सेवामा सहकारीकरण भई देशै सबै सहकारीमय हुने संभावना रहेको छ । देशका हरेक बालिक नागरिक सहकारीको सदस्य हुनेछन् र देशमा विद्यमान कालाबजारी उन्मुलन भई शोषण र उत्पिडन मुक्त समाजको निर्माण हुनेछ । यसरी राज्यको उपक्षित बर्ग र देशको आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने हुनाले नेपालमा सहकारीको भविष्य उज्वल छ र सहकारी आवश्यक पनि छ ।