११ फागुन, काठमाडौँ / तिर्सना गिरी । पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपाल पार्टीका संयोजक डा. बाबुराम भट्टराईले आर्थिक विकासको लागि अवको २० वर्षमा पर्यटन क्षेत्रले पहिलो स्थान लिने बताउनुभएको छ ।
आज बुधबार गन्तव्य नेपाल ग्रुपले आयोजना गरेको आफ्नो बिशेष बार्षिक कार्यक्रम समारोह बिच बोल्दै उहाँले सो कुरा बताउनुभएको हो । उहाँले भन्नुभयो,” नेपालको आर्थिक बिकासको लागि अहिले कृषिनै मुख्य आयश्रोत हो । तर कृषि पर्यटन सँग जोडीएको कारण अबको २० वर्षमा पर्यटन क्षेत्रले पहिलो स्थान लिन्छ। त्यस्को लागि आवश्यक पुर्वाधार बन्नुपर्छ । भौतिक, आधारभुत र समाजिक पूर्वधार राज्यले बनाउनुपर्छ र अरु कामहरु निजी क्षेत्रले अनी मात्रै पर्यटन बिकास हुन्छ ।”
कार्यक्रममा बोल्दै उहाले नेपालमा बाह्य पर्यटन भित्र्याउन ठुलो सम्भावना रहेको भन्दै भारत र चीन बाट मात्रै पनि १-१ करोड पर्यटक भित्र्याउन सके पर्यटन व्यवसाय फस्टाउने बताउनुभयो ।
त्यस्तै कार्यक्रममा एमाले पर्यटन विभाग प्रमुख सुर्य थापा र माओवादी केन्द्र पर्यटन विभाग प्रमुख लोकेन्द्र बिष्टले आर्थिक सम्वृद्विका लागि विगत र वर्तमानलाई समिक्षा गरेर एकताबद्व भएर सबै तहबाट लाग्नुपर्ने बेला आएको बताउँदै आफू र आफ्नो पार्टी त्यसको लागि प्रतिबद्व रहेको बताउनुभयो ।
त्यस्तै कार्यक्रममा नेपाल पर्यटन बोर्ड संचालक समिति सदस्य राजेन्द्र सापकोटा र निट नेपालका अध्यक्ष दिपक महतले पर्यटन नै आर्थिक सम्वृद्विको मुख्य आधार भएकाले सबै मिलेर आर्थिक सम्वृद्विका लागि अघि बढ्नुपर्ने बताउनुभयो ।
कार्यक्रममा गन्तव्य नेपालका अध्यक्ष शिव अधिकारीले पर्यटन क्षेत्रमा फोहोरी राजनीतिक खिचातानीका बीच पछिल्लो समय बेमेल बढेको बताउनुभयो । ‘पर्यटन क्षेत्रलाई राजनीतिकसँग जोडेर हेरिनुहुँदैन, यो व्यवसाय गर्ने क्षेत्र भएका कारणले गर्दा स्वस्थ प्रतिष्पर्धात्मक रुपमा काम गर्नुपर्नेमा केही व्यावसायीहरुको राजनीतिक कुचक्रले पर्यटनलाई गाँजीरहेको छ,’ उहाँले भन्नुभयो ।

‘आर्थिक समृद्धिका लागि पर्यटन’ भन्ने मुल नाराका साथ आयोजना गरिएको उक्त कार्यक्रममा पर्यटन क्षेत्रमा रहेर सामाजिक सेवामा सक्रिय पर्यटन व्यवसायी सम्मान, पत्रकार पुरस्कार प्रदान र सामाजिक क्षेत्रमा सक्रिय क्लबहरुलाई खेलकुद सामग्री प्रदान गरिएको थियो ।

उक्त विशेष कार्यक्रममा पर्यटन व्यवसायीहरु कृष्ण प्रसाद पाण्डे, दावा छिरि शेर्पा, गीता गुरुङ, विष्णुप्रसाद ज्ञवाली, मनोज कुमार श्रेष्ठ, छिरिङ धोन्डुप, राममणी सापकोटा, शशी लामिछाने, सन्जय पराजुली, पदम आचार्य, भाइकृष्ण खड्का, नवराज श्रेष्ठ, विनोद तिम्लिसिना, रघु चौधरी र धिरज बज्राचार्य सम्मानित भएका थिए ।

त्यस्तै न्यूज२४ का पत्रकार सुजन पन्तलाई पनि पुरसकारसहित सम्मान गरिएको थियो । प्रिन्स अफसेटबाट भीम प्रसाद सापकोटा पनि सम्मान भएका छन् ।

कार्यक्रममा ठमेल पर्यटन विकास परिषद् (टीटीडीसी) र सोसाइटी अफ टुर एण्ड ट्राभल एजेन्ट्स (सोट्टो–नेपाल) मा हालै निर्वाचित भएका नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा शुभकामना प्रदान गरिएको थियो । यसका साथै कार्यक्रममा सामाजिक क्षेत्रमा सक्रिय युवा क्लबहरु हाम्रो दान सिंङ युवा क्लव, गुरुजा मेन्डु युवा क्लव र गोरस्याङ गोरखनाथ युवा क्लव, तारुकालाई खेलकुद सामाग्री पनि प्रदान गरिएको थियो ।
कार्यक्रममा नयाँशक्ति नेपाल पार्टीका संगठन बिभाग प्रमुख देवेन्द्र पौडेल, प्रचार विभाग प्रमुख खिमलाल देवकोटा, लगायत पर्यटन क्षेत्रका संघसंस्थाका प्रतिष्ठित व्यक्तित्व, पर्यटन व्यावसायी तथा पत्रकारहरुको उलेख्य सहभागिता रहेको थियो ।