२०८३ साउन ९ शनिबार

सहकारीकर्मी पन्तको निधन, सहकारी अभियानका प्रेरणादायी व्यक्ति भएको नवकान्तिपुरको भनाई

ई आर्थिक    मंगलबार, मंसिर ४ २०७५
6.8K
Shares
सहकारीकर्मी पन्तको निधन, सहकारी अभियानका प्रेरणादायी व्यक्ति भएको नवकान्तिपुरको भनाई

काठमाडौं । अगुवा सहकारीकर्मी रामकृष्ण पन्तको निधन भएको छ । नवकान्तिपुर बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडका बरिष्ठ सल्लाहकार पन्त संस्थाको निवर्तमान अध्यक्ष समेत हुनुहुन्थ्यो । क्यान्सर रोगबाट लामो समयदेखि पीडित उहाँ ७६ बर्षको हुनुहुन्थ्यो । उहाँका १ छोरा ४ छोरी हुनुहुन्छ ।

१९९९ मंसिर २२ गते काभ्रेको चपलीमा जन्मनु भएको पन्तले प्रारम्भीक शिक्षा त्यहीको स्थानीय विद्यालयबाट गर्नुभएको थियो । दरबार हाइस्कूलबाट एसएलसी उतीर्ण गर्नुभएको उहाँले त्रिचन्द्र कलेजबाट आईएससी र विएससी गर्नुभएको थियो । त्यसपछि त्रिभुवन विश्वविद्यालयबाट उहाँले अर्थशास्त्रमा स्नातकोत्तर सम्मको शिक्षा हासिल गर्नुभएको थियो ।

२०२२ सालदेखि सरकारी सेवामा सुरु गर्नुभएको उहाँले विभिन्न सरकारी कार्यालयमा प्रमुखको जिम्मेवारी सम्हाल्नुभएको थियो । सोही सेवा अवधिमा उत्कृष्ट कार्य गरे वापत उहाँ ‘गोर्खा दक्षिणबाहु चौथो’ पदकबाट विभुषित हुनुभएको थियो । ३० बर्षे लामो सेवा अवधि पुरा गरिसके पछि उहाँले सरकारी सेवाबाट अवकास लिनुभएको थियो ।

नवकान्तिपुरमा उहाँ २०५५ सालदेखि २०७५ असोज ७ गतेसम्म निरन्तर अध्यक्ष पदमा रहेर सेवा पु¥याउनुभयो । स्वास्थ्यमा समस्या देखिएपछि संस्थाको असोज ७ गते सम्पन्न २१ औं साधारणसभाबाट उहाँ अध्यक्ष पद छाडी बरिष्ठ सल्लाहकारको रुपमा रहनुभएको थियो । नवकान्तिपुरमा रहेर लामो समय सेवा पु¥याउनुभएको योगदानको कदर गर्दै नबकान्तिपुर बहुउद्देश्यीय सहकारी संस्थाले १ दिन आफ्नो कार्यालय समेत बन्द गरेको थियो ।

‘२० बर्षदेखि संस्थामा निरन्तररुपमा अध्यक्ष पदमा रहेर नेतृत्वदायि भूमिकामा रहनुभएको उहाँ नबकान्तिपुरका अविभावक नै हुनुहुन्थ्यो ।’ संस्थाका अध्यक्ष शिवप्रसाद सिटौलाले भन्नुभयो– ‘उहाँको योगदानले नै सदस्यहरुमाझ नवकान्तिपुर सबल र विश्वसनीय संस्थाको रुपमा स्थापित छ ।’ उहाँको निधनले नवकान्तिपुर परिवारलाई स्तब्ध बनाएको भन्दै आफूहरुलाई अत्यन्त मर्माहत बनाएको उहाँले बताउनुभयो ।
संस्थाले एक सूचना प्रकाशित गरी यस विपद् घडिमा मृत आत्माको चिर शान्तिको कामना गर्दै शोकसन्तप्त परिवार प्रति परमेश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरुन भनिएको छ ।

‘स्वर्गीय पन्त नवकान्तिपुरको मात्रै हैन सहकारी अभियानको अगुवा र प्रेरणादायी व्यक्तित्व हुनुहुन्थ्यो’ संस्थाका का.मु. प्रमुख कार्यकारी अधिकृत हरिप्रसाद पाण्डेले भन्नुभयो– ‘उहाँको मार्गदर्शन र सुझावलाई नवकान्तिपुरले सधै अनुशरण गर्नेछ ।’

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij