२०८३ असोज १४ बुधबार

बाढीपहिरोले १९० मेगावाट विद्युत् प्रसारण प्रभावित, पुनःस्थापनामा प्राधिकरणको तीव्रता

ई आर्थिक    बुधबार, असोज १४ २०८३
171
Shares
बाढीपहिरोले १९० मेगावाट विद्युत् प्रसारण प्रभावित, पुनःस्थापनामा प्राधिकरणको तीव्रता

काठमाडौं । बाढीपहिरोका कारण प्रसारण संरचनामा क्षति पुग्दा विभिन्न जलविद्युत् आयोजनाबाट उत्पादन हुन सक्ने १९०.४ मेगावाट विद्युत् राष्ट्रिय प्रणालीमा जोडिन सकेको छैन।

नेपाल विद्युत् प्राधिकरणले क्षतिग्रस्त प्रसारण तथा वितरण संरचना मर्मत गर्दै विद्युत् आपूर्ति सामान्य बनाउने कामलाई तीव्रता दिएको जनाएको छ।

चार दिनसम्म परेको वर्षापछि आएको बाढीले कालीगण्डकी करिडोरअन्तर्गतको कुश्मा–दाना २२० केभी प्रसारण लाइनमा क्षति पुर्‍याएपछि सातवटा जलविद्युत् आयोजनाको विद्युत् प्रसारण प्रभावित भएको हो। प्रभावित आयोजनामा निलगिरि–१, निलगिरि–२, मिस्त्री, थापाखोला, घारखोला, रेलेखोला र घलेम्दी रहेका छन्।

प्राधिकरणका अनुसार म्याग्दीको दाना–कुश्मा २२० केभी प्रसारण लाइनका टावर नम्बर २१ र २२ मा क्षति पुगेको प्रारम्भिक विवरण प्राप्त भएको छ। बाढीपहिरोका कारण सडकसमेत अवरुद्ध रहेकाले क्षतिग्रस्त संरचनाको विस्तृत निरीक्षणमा कठिनाइ भइरहेको छ।

राहुघाट जलविद्युत् केन्द्रबाहेक थप १२७.८ मेगावाट क्षमताका आयोजनामा पनि प्रसारण तथा वितरण संरचनामा क्षति पुगेको प्राधिकरणले जनाएको छ। आवश्यक मर्मत र वैकल्पिक व्यवस्थामार्फत ती आयोजनाको विद्युत् केही दिनभित्र पुनः सञ्चालनमा ल्याउने तयारी छ।

४० मेगावाटको राहुघाट जलविद्युत् आयोजनाको टेलरेस गेट र डक्टमा क्षति पुगेको छ भने टर्बाइन फ्लोरमा पानी पसेको छ। पानी सफा गरी आयोजना पुनः सञ्चालनमा ल्याउन करिब १० दिन लाग्ने अनुमान गरिएको छ। आयोजनाको स्वीचयार्ड भने सामान्य अवस्थामा रहेकाले चार्ज गरिसकिएको प्राधिकरणले जनाएको छ।

यसैबीच, बाढीका कारण अवरुद्ध सेती–मादी करिडोरका २६२ मेगावाट र मर्स्याङ्दी करिडोरका १९० मेगावाट क्षमताका जलविद्युत् केन्द्र पुनः सञ्चालनमा आएका छन्। १४४ मेगावाटको कालीगण्डकी जलविद्युत् केन्द्र पनि सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।

बाढीपहिरोका कारण म्याग्दी, बागलुङ, तनहुँको झापुटार सबस्टेसन, मनाङ, मुस्ताङ, रुकुम पूर्व, प्युठान र रोल्पामा विद्युत् सेवा प्रभावित भएको थियो। म्याग्दी, बागलुङ, झापुटार र रुकुम पूर्वमा सेवा पुनः सञ्चालन भइसकेको छ भने मुस्ताङ, प्युठान र रोल्पामा आज साँझसम्म तथा मनाङमा भोलिसम्म विद्युत् सेवा सुचारु गर्ने लक्ष्यसहित प्राविधिक टोली परिचालन गरिएको छ।

यसअघि भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीबाट माथिल्लो त्रिशूली–३बीको २२० केभी हबलगायत संरचनामा क्षति पुगेपछि करिब ४३० मेगावाट विद्युत् राष्ट्रिय प्रणालीबाट बाहिर रहेको प्राधिकरणले जनाएको छ। प्रारम्भिक अनुमानअनुसार प्राधिकरण र उसका सहायक कम्पनीतर्फ करिब ७४ अर्ब रुपैयाँ बराबरको क्षति भएको छ।

सुख्खायाममा भारतबाट १,१५४ मेगावाटसम्म विद्युत् आयातको योजना
आगामी सुख्खायाममा विद्युत् माग र आपूर्तिबीच सन्तुलन कायम गर्न प्राधिकरणले आन्तरिक उत्पादनसँगै भारतबाट विद्युत् आयात गर्ने योजना बनाएको छ।

प्राधिकरणका अनुसार सुख्खायाममा आन्तरिक उत्पादनबाट करिब १ हजार २१८ मेगावाट विद्युत् उपलब्ध हुने अनुमान छ। माग व्यवस्थापनका लागि ढल्केबर–मुजफ्फरपुरबाट ६०० मेगावाट, टनकपुर–महेन्द्रनगरबाट ५४ मेगावाट, बिहारका विभिन्न बिन्दुबाट ३५० मेगावाट र आरटीसी माध्यमबाट १५० मेगावाट गरी करिब १ हजार १५४ मेगावाट विद्युत् भारतबाट आयात गर्ने योजना छ।

आयातसहित सुख्खायाममा कुल विद्युत् उपलब्धता करिब २ हजार ३७२ मेगावाट पुग्ने प्राधिकरणको अनुमान छ। गत आर्थिक वर्षको सुख्खायाममा राष्ट्रिय विद्युत् मागको उच्चतम स्तर २ हजार २९२ मेगावाट पुगेको थियो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij