२०८३ असोज १४ बुधबार

डुम्रे–बेँसीसहर–चामे सडक खुलाउने काम तीव्र, शुक्रबारसम्म पूर्ण सञ्चालनको लक्ष्य

ई आर्थिक    बुधबार, असोज १४ २०८३
152
Shares
डुम्रे–बेँसीसहर–चामे सडक खुलाउने काम तीव्र, शुक्रबारसम्म पूर्ण सञ्चालनको लक्ष्य

काठमाडौं । अविरल वर्षाका कारण विभिन्न स्थानमा पहिरो र बाढीले क्षति पुर्‍याएको डुम्रे–बेँसीसहर–चामे सडकखण्डमा यातायात सञ्चालनका लागि मर्मत तथा पहिरो हटाउने काम तीव्र पारिएको छ।

बेँसीसहर–चामे सडकखण्डअन्तर्गत रामबजारमा खसेको पहिरो हटाएपछि यातायात सञ्चालनमा आएको छ। तिमाङदेखि कोतोसम्मका विभिन्न स्थानमा भने पहिरो हटाउने काम जारी रहेको सम्बन्धित निकायले जनाएको छ।

फापरखेतमा सडक विस्तारका क्रममा स्थानीयको जग्गा कटिङ गर्नुपर्ने र क्षतिपूर्तिसम्बन्धी देखिएको समस्या पालिका तथा जिल्ला प्रशासनसँगको समन्वयमा समाधान गरिएको छ।

खोत्रोमा सडक पूर्ण रूपमा क्षति पुगेको स्थानमा पछाडिबाट कटिङ गरी टेवा पर्खाल निर्माण गरेर साँझसम्म यातायात सञ्चालनमा ल्याउने तयारी छ। खोत्रो नजिकैको भीरमा नेपाली सेनासँगको समन्वयमा ब्लास्टिङ गर्ने तयारीसमेत भइरहेको छ।

त्यस्तै, गरछापमा थुप्रिएको लेदो तथा पहिरो हटाउने कार्य जारी छ। बाढीले बगाएका काठेपुल भएका स्थानमा डाइभर्सन निर्माण गरी सडक सञ्चालनमा ल्याउने काम अघि बढाइएको छ।

सम्बन्धित निकायले आगामी शुक्रबारसम्म डुम्रे–बेँसीसहर–चामे सडकखण्ड पूर्ण रूपमा सञ्चालनमा ल्याउने लक्ष्यसहित काम भइरहेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij