२०८३ असोज १४ बुधबार

दोधारा-चाँदनी झोलुंगे पुलको पिल्लर बाढीले भत्काउँदा आवागमन अवरुद्ध, प्राविधिक टोलीद्वारा अध्ययन सुरु

ई आर्थिक    बुधबार, असोज १४ २०८३
190
Shares
दोधारा-चाँदनी झोलुंगे पुलको पिल्लर बाढीले भत्काउँदा आवागमन अवरुद्ध, प्राविधिक टोलीद्वारा अध्ययन सुरु

महेन्द्रनगर।  कञ्चनपुरको महाकालीमा नदीमा अवस्थित दोधारा-चाँदनी झोलुंगे पुलको पिल्लर भत्किएपछि प्राविधिक टोलीले स्थलगत अध्ययन सुरु गरेको छ।

सुदूरपश्चिम प्रदेशको यातायात पूर्वाधार निर्देशनालयका निर्देशक जगतप्रसाद जोशीले झोलुंगे पुलको विज्ञका रूपमा परिचित इन्जिनियर प्रकाश बमसहितको प्राविधिक टोली दोधारा-चाँदनी पुगेर पुलको स्थलगत अनुगमन र निरीक्षणमा जुटिसकेको जानकारी दिए।

भीमदत्त नगरपालिका र दोधारा-चाँदनी नगरपालिका जोड्ने पुलको एउटा पिल्लर भत्किनुका साथै पुलको करिब ६ मिटर भागसमेत मर्मत गर्नुपर्ने भएपछि आवागमन रोकिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ।

यता सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री खगराज भट्टको टोली पनि भत्किएको पुल अनुगमनका लागि दोधारा-चाँदनी पुग्दैछ। मुख्यमन्त्री भट्टसँगै प्रदेश भौतिक पूर्वाधार विकास मन्त्रालयको टोलीसमेत रहेको छ।

त्यसैगरी, कञ्चनपुरका तीनवटै निर्वाचन क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्यले पुल पुनर्निर्माणका लागि समन्वय भइरहेको सामाजिक सञ्जालमार्फत धारणा सार्वजनिक गरेका छन्।

कञ्चनपुर निर्वाचन क्षेत्र नं ३ बाट निर्वाचित सांसद ज्ञानेन्द्र महताले पुलको प्राविधिक निरीक्षणका लागि टोली पठाइएको जानकारी दिए। कञ्चनपुर निर्वाचन क्षेत्र नं २ का सांसद दीपकराज बोहराले पुलको एउटा पिल्लर बाढीले भत्काएको भन्दै सुरक्षाका कारण पुल वरपर नजान नागरिकहरूसित आग्रह गरेका छन्।

त्यसैगरी, पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकले पुल भत्किएको घटनाप्रति दुःख व्यक्त गर्दै सरकारलाई यथाशीघ्र पुल निर्माणका लागि आग्रह गरेका छन्।

‘विसं २०५६ मा यहाँबाट निर्वाचित भएपछि मैले पहिलो पटक महाकाली नदीमा झोलुंगे पुल बनाई दोधारा-चाँदनी जोड्नुपर्छ भन्दा कतिपय साथीहरू असम्भव कुरो भनेर मसित ठट्टा गर्थे’, लेखकले भने, ‘तर सोही अवधिमा पुल निर्माण प्रारम्भ भएर सरकारकै बजेट र नेपालकै प्राविधिकबाट ऐतिहासिक लामो पुल बनेको थियो।’ रासस

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij