२०८३ असोज १३ मंगलबार

सुक्खायाममा १ हजार १५४ मेगावाट विद्युत भारतबाट आयात गर्ने तयारी

ई आर्थिक    सोमबार, असोज १२ २०८३
456
Shares
सुक्खायाममा १ हजार १५४ मेगावाट विद्युत भारतबाट आयात गर्ने तयारी

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले आगामी सुक्खायाममा विद्युत आपूर्ति सहज बनाउन भारतबाट १ हजार १५४ मेगावाट विद्युत आयात गर्ने तयारी गरेको छ।

प्राधिकरणका अनुसार सुक्खायाममा आन्तरिक उत्पादनबाट करिब १ हजार २१८ मेगावाट विद्युत उपलब्ध हुने अनुमान छ। आन्तरिक उत्पादन अपुग हुने भएपछि भारतबाट थप विद्युत आयात गर्ने योजना बनाइएको हो।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठका अनुसार ढल्केबर–मुजफ्फरपुर प्रसारणलाइनबाट ६ सय मेगावाट, टनकपुर–महेन्द्रनगरबाट ५४ मेगावाट, बिहारका विभिन्न बिन्दुबाट ३५० मेगावाट र आरटीसीमार्फत १५० मेगावाट विद्युत आयात गरिनेछ।

आन्तरिक उत्पादन र भारतबाट आयात हुने विद्युत जोड्दा सुक्खायाममा कुल २ हजार ३७२ मेगावाट विद्युत उपलब्ध हुने प्राधिकरणको अनुमान छ। अघिल्लो आर्थिक वर्षको सुक्खायाममा राष्ट्रिय विद्युत मागको उच्चतम बिन्दु २ हजार २९२ मेगावाट पुगेको थियो।

यसैबीच, गत भदौ १० गते भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण जलविद्युत आयोजनाका संरचनामा ठूलो क्षति पुगेको प्राधिकरणले जनाएको छ। बाढीका कारण माथिल्लो त्रिशूली–३ बीको २२० केभी हब तथा विभिन्न जलविद्युत केन्द्रमा क्षति हुँदा करिब ४३० मेगावाट विद्युत उत्पादन प्रणालीबाट बाहिरिएको कार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिए।

बाढीबाट नेपाल विद्युत प्राधिकरण र त्यसका सहायक कम्पनीका संरचनामा करिब ७४ अर्ब रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको छ।

खोज तथा उद्धारको काम सम्पन्न भइसकेपछि प्रभावित क्षेत्रका सुरुङ तथा पावरहाउसमा जम्मा भएको डेब्रिज र फोहोर हटाउने काम अघि बढाइने श्रेष्ठले बताए। त्यसपछि क्षतिग्रस्त संरचनाको पुनर्निर्माण तथा विद्युत उत्पादन प्रणालीमा फर्काउने कामलाई प्राथमिकताका साथ अघि बढाइने प्राधिकरणको भनाइ छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij