२०८३ असोज १४ बुधबार

रारा चाउचाउ गुणस्तरहीन, बजारबाट फिर्ता गर्न निर्देशन

ई आर्थिक    बुधबार, असोज १४ २०८३
152
Shares
रारा चाउचाउ गुणस्तरहीन, बजारबाट फिर्ता गर्न निर्देशन

काठमाडौं । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले रारा ब्रान्डको तयारी चाउचाउको  गुणस्तर परीक्षणमा न्यूनस्तरको भेटिएपछि बजारबाट फिर्ता गर्न निर्देशन दिएको छ।

विभागका अनुसार नियमित बजार अनुगमनका क्रममा संकलन गरिएको चाउचाउको नमुना प्रयोगशालामा परीक्षण गर्दा खाद्य पदार्थका लागि तोकिएको मापदण्ड पूरा नभएको पाइएको हो।

पोखरा औद्योगिक क्षेत्रमा रहेको हिमश्री फुड्स प्रालिले उत्पादन गरेको ६० ग्रामको रारा चाउचाउको ‘आरईजी ०१’ ब्याच परीक्षणमा न्यूनस्तरको पुष्टि भएको विभागले जनाएको छ। उक्त उत्पादनको मिति ५ फेब्रुअरी २०२६ रहेको छ।

विभागले गुणस्तर मापदण्ड पूरा नगरेको पुष्टि भएपछि उक्त ब्याचका सबै चाउचाउ बजारबाट तत्काल फिर्ता ल्याउन उत्पादकलाई निर्देशन दिएको छ। साथै, सम्बन्धित उत्पादनको थप बिक्री वितरणमा समेत रोक लगाइएको छ।

उत्पादकले उत्पादन मितिले १२ महिनासम्म उपभोग गर्न मिल्ने अवधि तोकेको भए पनि परीक्षणबाट न्यूनस्तरको पुष्टि भएकाले म्यादभित्रै भए पनि उक्त ब्याच उपभोग नगर्न विभागले आग्रह गरेको छ।

विभागले उपभोक्तालाई खरिद गर्नुअघि चाउचाउको उत्पादन मिति र ब्याच नम्बर जाँच गर्न तथा ‘आरईजी ०१’ ब्याचको रारा चाउचाउ खरिद वा उपभोग नगर्न सचेत गराएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij