काठमाडौं । सानिमा बैंक लिमिटेडले सेयरधनीलाई कुल १८ प्रतिशत लाभांश वितरण गर्ने भएको छ।
सोमबार काठमाडौंमा सम्पन्न बैंकको २२औँ वार्षिक साधारण सभाले गत असार मसान्तमा कायम साधारण सेयर पुँजीको १० प्रतिशत नगद लाभांश (करसहित) र अग्राधिकार सेयर पुँजीको ८.२५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गरेको हो।
साधारण सभाले सर्वसाधारण सेयरधनीका तर्फबाट तेजबहादुर चन्द र महेश घिमिरेलाई सञ्चालकमा निर्विरोध निर्वाचित गरेको छ।
बैंकका अनुसार आर्थिक वर्ष २०८२/८३ मा सानिमा बैंकले ३ अर्ब ५५ करोड रुपैयाँ खुद मुनाफा आर्जन गरेको छ। सो अवधिको अन्त्यसम्म बैंकको कुल सम्पत्ति २ खर्ब ९१ अर्ब २१ करोड रुपैयाँ पुगेको छ।
त्यस्तै, बैंकको कुल निक्षेप २ खर्ब ४९ अर्ब ९३ करोड रुपैयाँ र खुद कर्जा सापटी २ खर्ब ३ अर्ब ९९ करोड रुपैयाँ रहेको छ।
बैंकले आर्थिक वर्ष २०८१/८२ को तुलनामा निक्षेप, कर्जा सापटी र कुल सम्पत्तिमा क्रमशः १०.८४ प्रतिशत, ११.१९ प्रतिशत र १०.५० प्रतिशतले वृद्धि भएको जनाएको छ।
बैंकले वित्तीय सूचकमा भएको वृद्धि तथा आगामी योजनाबारे पनि साधारण सभामा जानकारी गराएको थियो।