कर्णाली । कर्णाली प्रदेशका तीन वटा यातायात कार्यालयबाट आर्थिक वर्ष २०८२/८३ मा ३५ करोड रुपैयाँभन्दा बढी राजस्व सङ्कलन भएको छ।
कर्णाली प्रदेश भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालयअन्तर्गतका सुर्खेत, जुम्ला र रुकुमपश्चिमस्थित यातायात कार्यालयबाट कुल ३५ करोड ८ लाख ४३ हजार ५९० रुपैयाँ राजस्व सङ्कलन भएको हो।
मन्त्रालयका अनुसार सबैभन्दा बढी राजस्व यातायात व्यवस्था कार्यालय सुर्खेतबाट सङ्कलन भएको छ। सुर्खेत कार्यालयले २९ करोड ५६ लाख ९ हजार ४१० रुपैयाँ राजस्व सङ्कलन गरेको छ।
त्यस्तै, जुम्लाबाट करिब दुई करोड रुपैयाँ र रुकुमपश्चिमबाट ३ करोड ५७ लाख ९१ हजार ६५० रुपैयाँ राजस्व सङ्कलन भएको सचिव बमले जानकारी दिए।
उनका अनुसार यातायात कार्यालयहरूको कुल राजस्व सङ्कलनमा सवारीसाधन करको योगदान सबैभन्दा बढी रहेको छ। कुल राजस्वमध्ये सवारीसाधन करबाट मात्रै ८७.४६ प्रतिशत राजस्व सङ्कलन भएको छ।
त्यस्तै, चालक अनुमतिपत्र, सवारी दर्ता तथा नवीकरण दस्तुरबाट १०.९४ प्रतिशत, प्रशासनिक दण्ड, जरिवाना तथा जफतबाट १.४८ प्रतिशत र अन्य प्रशासनिक सेवा शुल्कबाट ०.२१ प्रतिशत राजस्व सङ्कलन भएको मन्त्रालयले जनाएको छ।
मन्त्रालयले यातायात क्षेत्रको सेवा प्रवाहलाई थप सहज र प्रभावकारी बनाउँदै राजस्व सङ्कलन तथा प्रशासनिक व्यवस्थापनलाई सुदृढ गर्ने जनाएको छ।