नवलपुर । नारायणी नदीमा आएको बाढीले किनारमा राखिएको नेपालकै पहिलो ठूलो क्रुज ‘राइनो क्रुज’ बगाएको छ। बगेको क्रुज नारायणी पुलको पिलरमा अड्किएपछि पुलको सुरक्षामा गम्भीर चुनौती थपिएको छ।
नवलपुरका सहायक प्रमुख जिल्ला अधिकारी चिरञ्जिवी रानाका अनुसार क्रुज पुलको पिलरमा अड्किएपछि पुलमा थप क्षति पुग्न सक्ने जोखिम बढेको छ। क्रुजलाई नदीबाट तानेर निकाल्ने सम्भावना नरहेकाले क्रेनको सहायताले क्रुजलाई टुक्र्याएर सुरक्षित रूपमा बगाउने विषयमा छलफल भइरहेको उनले बताए।
यसका लागि सडक डिभिजन कार्यालयसँग समेत समन्वय भइरहेको रानाले जानकारी दिए। तर रात परिसकेको र नारायणी नदीको बहावसमेत उच्च रहेकाले उद्धार तथा व्यवस्थापनमा थप चुनौती देखिएको उनको भनाइ छ।
गत माघ १८ गतेदेखि नवलपुरको गैँडाकोटस्थित नारायणी नदीमा राइनो क्रुज सञ्चालनमा आएको थियो। नवलपुर तथा आसपासका पर्यटकीय क्षेत्रलाई नयाँ र दिगो गन्तव्यका रूपमा विकास गर्ने उद्देश्यले करिब ५० करोड रुपैयाँ लगानीमा राइनो वाटर इन्टरटेनमेन्ट प्रालि र होटल रिभर क्राउन प्रालिले संयुक्त रूपमा क्रुज सञ्चालनमा ल्याएका थिए।
गत भदौ १० गते आएको भोटेकोशीको ठूलो बाढीमा समेत नबगेको क्रुज अहिले नारायणी नदीको बाढीले बगाएको हो। क्रुज पुलको पिलरमा अड्किएपछि पुलको संरचनामै क्षति पुग्न सक्ने जोखिम रहेको इलाका प्रहरी कार्यालय गैँडाकोटका प्रमुख प्रहरी निरीक्षक लक्ष्मण गिरीले बताए।
रिभर क्राउन प्रालिका प्रबन्ध निर्देशक दीपक ढुंगेलका अनुसार साढे दुई तले क्रुज ९५ फिट लामो र २१ फिट चौडा छ। यसको अधिकतम क्षमता करिब २०० जनाको भए पनि सञ्चालनका क्रममा १५० जनालाई सेवा दिने गरी व्यवस्था गरिएको थियो।