नेपालगन्ज : ४७औँ विश्व पर्यटन दिवसको अवसरमा नेपालगन्ज पर्यटन परिषद्ले नेपाल–भारत सीमा नाका जमुनाहामा सरसफाइ कार्यक्रम आयोजना गरेको छ।
नेपालगन्ज पर्यटन परिषद्को संयोजकत्वमा नाटा बाँके च्याप्टर, होटल संघ नेपाल (हान) बाँके, होटल व्यवसायी संघ बाँके, होटल सिद्धार्थ, सामुदायिक प्रहरी बाँके र होटल कल्पतरुको सहकार्यमा आइतबार जमुनाहा नाकामा सरसफाइ गरिएको हो।
भारतलगायत तेस्रो मुलुकबाट नेपाल प्रवेश गर्ने पर्यटकलाई स्वच्छ र सफा वातावरणमा स्वागत गर्ने उद्देश्यले सीमा नाकामा सरसफाइ गरिएको नेपालगन्ज पर्यटन परिषद्का अध्यक्ष केशवराज न्यौपानेले बताउनुभयो।
उहाँका अनुसार नेपालगन्ज नाका हुँदै भारतबाट ठूलो संख्यामा पर्यटक नेपाल आउने भएकाले सीमा क्षेत्रमा स्वच्छ वातावरण कायम गर्न सके त्यसले पर्यटकमा सकारात्मक सन्देश जानेछ।
‘भारतबाट सबैभन्दा बढी पर्यटक भित्रिने भएकाले उनीहरूलाई सफा र स्वच्छ वातावरणमा राम्रो स्वागत गर्न सके त्यसबाट सकारात्मक प्रभाव पर्छ,’ अध्यक्ष न्यौपानेले भन्नुभयो।
सरसफाइ कार्यक्रममा सीमा नाकामा खटिएका सुरक्षाकर्मीलाई नेपाल प्रवेश गर्ने पर्यटकसँग राम्रो तथा सम्मानजनक व्यवहार गर्नसमेत आग्रह गरिएको उहाँले बताउनुभयो।
कार्यक्रममा नेपालगन्जका होटल तथा पर्यटन व्यवसायी, सुरक्षाकर्मी लगायतको उल्लेख्य सहभागिता रहेको थियो।
पश्चिम नेपालमा पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य
पश्चिम नेपालमा पर्यटन क्षेत्रको प्रवर्द्धन, विकास तथा संरक्षणका साथै पर्यटन व्यवसायसँग सम्बन्धित सरोकारवालाबीच सहकार्य र समन्वय गर्ने उद्देश्यले नेपालगन्ज पर्यटन परिषद् गठन गरिएको हो।
परिषद्मा होटल संघ नेपाल, होटल व्यवसायी संघ बाँके र नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा) बाँके च्याप्टर संस्थागत सदस्यका रूपमा रहेका छन्।
परिषद्ले भारतबाट थप पर्यटक आकर्षित गरी बाँके र बर्दियालगायत पश्चिम नेपालका पर्यटकीय गन्तव्यसँगै स्वर्गद्वारी, रारा ताल र मानसरोवरसम्म पुर्याउने लक्ष्य लिएको होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भीमलाल कँडेलले बताउनुभयो।
पर्यटन दिवसको अवसरमा आयोजित सरसफाइ कार्यक्रममार्फत सीमा नाकाबाटै नेपाल आउने पर्यटकलाई सकारात्मक सन्देश दिन खोजिएको आयोजकले जनाएको छ।