२०८३ असोज ६ मंगलबार

मलेसिया रोजगारीमा सिन्डिकेट अन्त्य गर्न प्रधानमन्त्री शाहको जोड

ई आर्थिक    मंगलबार, असोज ६ २०८३
152
Shares
मलेसिया रोजगारीमा सिन्डिकेट अन्त्य गर्न प्रधानमन्त्री शाहको जोड

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह र मलेसियाका प्रधानमन्त्री अनवर इब्राहिमबीच नेपाल–मलेसिया वैदेशिक रोजगारीलाई मर्यादित, पारदर्शी र शोषणमुक्त बनाउने विषयमा टेलिफोनमार्फत छलफल भएको छ।

मंगलबार बिहान भएको टेलिफोन संवादमा प्रधानमन्त्री शाहले मलेसियाको रोजगारी क्षेत्रमा देखिएको सिन्डिकेट तथा बिचौलिया प्रथा आफू र आफ्नो सरकारलाई स्वीकार्य नभएको स्पष्ट पार्नुभएको छ।

प्रधानमन्त्री शाहले नेपाली श्रमिकको हितविपरीत हुने अव्यावहारिक तथा अन्यायपूर्ण प्रवृत्तिको अन्त्यका लागि नेपाल र मलेसियाबीच संयुक्त पहल आवश्यक रहेको बताउनुभएको छ। उहाँले वैदेशिक रोजगारीको प्रक्रियालाई पारदर्शी र श्रमिकमैत्री बनाउनुपर्नेमा जोड दिनुभएको छ।

प्रधानमन्त्री शाहको धारणा सुनेपछि मलेसियाका प्रधानमन्त्री इब्राहिमले आफू पनि सिन्डिकेट तथा बिचौलिया प्रथाको विपक्षमा रहेको स्पष्ट पार्नुभएको छ।

इब्राहिमले यस विषयमा मलेसियाका श्रममन्त्रीलाई नेपालका श्रममन्त्रीसँग तत्काल समन्वय गरी आवश्यक काम अघि बढाउन निर्देशन दिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।

नेपाल र मलेसियाबीच लामो समयदेखि वैदेशिक रोजगारीका विषयमा सहकार्य हुँदै आएको छ। पछिल्लो छलफलले नेपाली श्रमिकको भर्ना प्रक्रिया पारदर्शी बनाउने तथा बिचौलियाका कारण श्रमिकमाथि पर्ने अतिरिक्त आर्थिक भार र अन्य समस्याको समाधान खोज्ने विषयलाई थप प्राथमिकतामा राखेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij