२०८३ असोज ७ बुधबार

राजनीतिक गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

ई आर्थिक    मंगलबार, असोज ६ २०८३
646
Shares
राजनीतिक गतिविधिमा संलग्न शिक्षकलाई कारबाही गर्न शिक्षा मन्त्रालयको निर्देशन

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले राजनीतिक दलका गतिविधिमा संलग्न शिक्षक तथा कर्मचारीमाथि प्रचलित कानूनअनुसार कारबाही गर्न निर्देशन दिएको छ।

शिक्षकहरू राजनीतिक दलका कार्यक्रममा सहभागी भएको विषय सामाजिक सञ्जाल तथा विभिन्न माध्यमबाट सार्वजनिक भएपछि शिक्षामन्त्री सस्मित पोखरेलले विद्यालयमा कार्यरत शिक्षकहरूको राजनीतिक गतिविधिमाथि निगरानी बढाउन निर्देशन दिएका हुन्।

मन्त्रीको निर्देशनपछि देशभरका विद्यालयमा शिक्षक तथा कर्मचारी राजनीतिक गतिविधिमा संलग्न भए/नभएको निगरानी गर्न सम्बन्धित निकायले स्थानीय तहलाई आग्रह गर्न थालेका छन्।

यसैक्रममा शिक्षा विकास तथा समन्वय एकाइ, बैतडीले जिल्लाका १० वटै स्थानीय तहलाई पत्राचार गर्दै विद्यालयमा कार्यरत शिक्षकहरूको राजनीतिक दलका कार्यक्रममा सहभागिताबारे निगरानी गर्न निर्देशन दिएको छ।

एकाइले सामाजिक सञ्जालमा सार्वजनिक भएका समाचार तथा सूचनाका आधारमा जिल्लाका केही विद्यालयमा कार्यरत शिक्षकहरू विभिन्न राजनीतिक दलका कार्यक्रममा सहभागी भएको पाइएको जनाएको छ।

स्थानीय तहअन्तर्गतका विद्यालयमा कार्यरत शिक्षकहरू राजनीतिक दलका विभिन्न कार्यक्रममा सहभागी भए/नभएको सम्बन्धमा गहन निगरानी गर्न एकाइले अनुरोध गरेको छ। साथै, प्रचलित शिक्षा ऐन तथा नियमावलीले निर्धारण गरेको शिक्षक आचरण र मापदण्ड तथा नेपाल सरकारका पछिल्ला निर्देशनविपरीत गतिविधि गरेको पाइएमा कानूनबमोजिम आवश्यक कारबाही गर्नसमेत आग्रह गरिएको छ।

शिक्षा विकास तथा समन्वय एकाइ, बैतडीका एकाइ प्रमुख दशरथ दत्त भट्टद्वारा जारी पत्रमा उक्त निर्देशन उल्लेख गरिएको छ। पत्रको बोधार्थ शिक्षा तथा खेलकुद मन्त्रालयलाई समेत दिइएको छ।

सिन्धुलीमा चार शिक्षक तथा कर्मचारीको नाम उल्लेख

यसैबीच शिक्षा विकास तथा समन्वय एकाइ, सिन्धुलीले पनि जिल्लाका सामुदायिक विद्यालयमा कार्यरत शिक्षक तथा कर्मचारी राजनीतिक दलका कार्यक्रममा सक्रिय रूपमा सहभागी भएको पाइएमा कारबाही गर्न सम्बन्धित स्थानीय तहलाई निर्देशन दिएको छ।

एकाइले दुधौली नगरपालिका, सुनकोशी गाउँपालिका र तीनपाटन गाउँपालिकालाई पत्राचार गर्दै सामाजिक सञ्जाललगायत विभिन्न माध्यमबाट शिक्षक तथा कर्मचारी राजनीतिक दलका कार्यक्रममा सहभागी भएको जानकारी प्राप्त भएको जनाएको छ।

एकाइ प्रमुख तथा उपसचिव दिनेश प्रसाद देवकोटाले जारी गरेको पत्रमा सामाजिक सञ्जालमा प्रकाशित सामग्रीका आधारमा चार जना शिक्षक तथा कर्मचारीको राजनीतिक गतिविधिमा संलग्नता देखिएको उल्लेख गरिएको छ।

पत्रमा प्रेम प्रसाद भट्टराई, सर्वेश्वर कोइराला, अर्जुन कुमार गौतम र यतिराज तिमल्सिनाको नाम उल्लेख गरिएको छ।

उक्त गतिविधि शिक्षा नियमावली, २०५९ (दशौँ संशोधनसहित) मा उल्लिखित व्यवस्थाविपरीत हुने उल्लेख गर्दै सम्बन्धित शिक्षक तथा कर्मचारीमाथि प्रचलित कानूनअनुसार आवश्यक कारबाही गर्न स्थानीय तहलाई अनुरोध गरिएको छ।

साथै, सम्बन्धित स्थानीय तहले गरेको कारबाहीबारे शिक्षा विकास तथा समन्वय एकाइलाई अविलम्ब जानकारी गराउनसमेत पत्रमार्फत भनिएको छ। पत्रको बोधार्थ शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गतको शिक्षा विभागलाई दिइएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij