काठमाडौं । रसुवा लगायतका जिल्लामा आएको बाढीबाट क्षतिग्रस्त तुइन तथा झोलुङ्गे पुलको मर्मत तथा पुनःनिर्माणले गति लिन थालेको छ। बाढीपछि आवतजावतमा समस्या भएका क्षेत्रमा हालसम्म चार वटा तुइन निर्माण गरी सञ्चालनमा ल्याइएको छ भने थप तीन वटा तुइन जडानको तयारी भइरहेको छ।
निर्माण सम्पन्न भई सञ्चालनमा आएका तुइनमध्ये नुवाकोटको त्रिशूलीस्थित इन्द्रेणीचौर र गुम्बाडाँडा जोड्ने तुइनलाई मोटराइज्ड गरिएको छ। त्यस्तै, नुवाकोटको विदुर नगरपालिका–५ देविघाट, रसुवाको गोसाइँकुण्ड गाउँपालिका–५ र ६ अन्तर्गत स्याफ्रुबेँसी–चिलिमे जलविद्युत् आयोजना क्षेत्र तथा गोसाइँकुण्ड गाउँपालिका–६ र आमाछोदिङ्मो गाउँपालिका–१ जोड्ने हाकुबेंसीमा तुइन सञ्चालनमा ल्याइएको छ।
थप तीन स्थानमा तुइन जडानको तयारी भइरहेको छ। रसुवाको उत्तरगया गाउँपालिका–४ पैरेबेँसी र नुवाकोटको किस्पाङ गाउँपालिका–५ जोड्ने स्थानमा तुइन निर्माणका लागि विवादित स्थलमा सहमति जुटेको छ। यस्तै, गोसाइँकुण्ड गाउँपालिका–३ र ४ जोड्ने स्याफ्रुबेँसी–लाङटाङ क्षेत्रमा माइन एरिया रहेकाले स्थान परिवर्तन गरी तुइन जडान गर्नुपर्ने भएको छ। रसुवाकै रुङ्गामा भने तुइन निर्माणका लागि स्थलगत निरीक्षण (रेकी) भइरहेको छ।
१३ वटा झोलुङ्गे पुल मर्मत अन्तिम चरणमा
बाढीबाट क्षतिग्रस्त १३ वटा झोलुङ्गे पुलको मर्मत कार्य सम्पन्न हुने चरणमा पुगेको छ। धादिङ, नुवाकोट र गोरखा जिल्लाका विभिन्न स्थानीय तहमा रहेका ती पुलको मर्मतपछि स्थानीय बासिन्दाको आवतजावत सहज हुने अपेक्षा गरिएको छ।
मर्मत अन्तिम चरणमा पुगेका पुलमा धादिङको सिद्धलेक–६ र गजुरी–१ जोड्ने कालिकास्थान झोलुङ्गे पुल, सिद्धलेक–३ र बेनीघाट रोराङ–३ जोड्ने मालिङ्गा–मझुवाटार दोभान पुल, गल्छी–१ र गल्छी–६ जोड्ने महेशदोभान मास्टर पुललगायत छन्।
त्यसैगरी, नुवाकोट–धादिङ जोड्ने केउरेनी–गहते, नुवाकोटको बेलकोटगढी–७ र तारकेश्वर–२ जोड्ने पिमलटार–जागाराम, गल्छी–२ र ४ का चिरौंदी खोला, शीतलबजार–क्यूरेनीटार, बेल्खु–भुतिया र महादेवस्थान झोलुङ्गे पुल पनि मर्मतको अन्तिम चरणमा पुगेका छन्।
गोरखा–धादिङ जोड्ने बादरे तथा धवादीघाट झोलुङ्गे पुल, नुवाकोटको बेलकोटगढी–८ स्थित जिलिङ झोलुङ्गे पुल र बेलकोटगढी–५ तथा गल्छी–१ जोड्ने फोस्रेटार झोलुङ्गे पुलको मर्मत कार्य पनि सम्पन्न हुने चरणमा रहेको छ।
थप ७ पुलको मर्मत सुरु
बाढीबाट क्षतिग्रस्त बाँकी सात वटा झोलुङ्गे पुलको मर्मत कार्यसमेत सुरु भएको छ। ती पुलको मर्मतका लागि आवश्यक स्टिल पार्ट्स खरिद गर्न टेन्डर प्रक्रिया अघि बढाइएको छ।
झोलुङ्गे पुल मर्मतका लागि आवश्यक स्टिल पार्ट्स व्यवस्थापनअन्तर्गत पहिलो चरणको खरिद सम्पन्न भइसकेको छ भने दोस्रो चरणमा आवश्यक स्टिल पार्ट्स खरिदका लागि सम्झौता भइसकेको जनाइएको छ।
३३ वटा पुल पुनर्निर्माणको तयारी
बाढीबाट पूर्ण रूपमा क्षति भएका ३३ वटा झोलुङ्गे पुल पुनर्निर्माणको तयारी पनि अघि बढेको छ। ती पुल पुनर्निर्माणका लागि आवश्यक विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गर्ने काम अन्तिम तयारीमा रहेको छ।
बाढीपछि क्षतिग्रस्त पुल तथा तुइनको मर्मत, पुनःस्थापना र पुनर्निर्माणको काम अघि बढेसँगै नदी तथा खोलाका कारण प्रभावित बस्तीबीचको आवतजावत पुनः सहज हुने अपेक्षा गरिएको छ।