२०८३ असोज ५ सोमबार

चाडपर्व लक्षित बजार अनुगमन : दिक्तेलका ६६ पसलबाट म्याद गुज्रेका सामग्री बरामद

ई आर्थिक    सोमबार, असोज ५ २०८३
133
Shares
चाडपर्व लक्षित बजार अनुगमन : दिक्तेलका ६६ पसलबाट म्याद गुज्रेका सामग्री बरामद

खोटाङ । दसैँ, तिहार तथा छठ पर्वलाई लक्षित गर्दै खोटाङको प्रमुख व्यापारिक केन्द्र दिक्तेल बजारमा बजार अनुगमन तीव्र पारिएको छ। संयुक्त अनुगमन टोलीले दिक्तेल बजारका ६६ वटा होलसेल तथा किराना पसलमा अनुगमन गरी म्याद गुज्रेका खाद्यवस्तु तथा पेय पदार्थ बरामद गरेको हो।

अनुगमन टोलीले अल्छेढुङ्गा–रत्नपार्क, रत्नपार्क–पुरानो बेसक्याम्प, पुरानो बेसक्याम्प–त्रिवेणीचोक, त्रिवेणीचोक–हाटडाँडा र हाटडाँडा–अस्पतालचोक क्षेत्रमा रहेका पसलको अनुगमन गरेको थियो।

बरामद गरिएका सामग्री सर्जमिन मुचुल्का तयार गरी नष्ट गरिएको छ। म्याद गुज्रेका पेय पदार्थ खाल्डोमा हालेर नष्ट गरिएको थियो भने अन्य दैनिक उपभोग्य सामग्री जिल्ला प्रशासन कार्यालय खोटाङको परिसरमा जम्मा गरी आगो लगाएर नष्ट गरिएको जनाइएको छ।

घरेलु तथा साना उद्योग कार्यालय खोटाङका प्रमुख भेषराज खत्रीका अनुसार पटक–पटक बजार अनुगमन गरी म्याद गुज्रेका सामग्री बिक्री नगर्न व्यवसायीलाई सचेत गराउँदै आए पनि कतिपय व्यवसायीले अटेर गर्ने गरेका छन्।

उनले दिक्तेल बजारमै म्याद गुज्रेका खाद्यवस्तु र पेय पदार्थ भेटिनुले जिल्लाका ग्रामीण क्षेत्रमा समेत यस्ता सामग्री पुगिरहेको हुन सक्ने बताए। उनका अनुसार जिल्लाका दुर्गम क्षेत्रमा पनि अनुगमन विस्तार गर्ने योजना रहेको छ।

‘बजारमै म्याद गुज्रेको खाद्यवस्तु र पेय पदार्थ भेटिँदा दूरदराजमा म्याद गुज्रेका सामग्री कति फेला पर्लान् भन्ने प्रश्न खडा भएको छ,’ खत्रीले भने, ‘सम्भव भएसम्म सबै ठाउँमा अनुगमन गर्ने योजना छ । जिल्लाबाट पुग्न नसकिएको ठाउँमा सम्बन्धित पालिकालाई अनुगमन गर्न आग्रह गर्छौँ।’

जिल्लाका व्यापारीले म्याद गुज्रेका सामग्री बिक्री गर्ने गरेको विषयमा सञ्चारकर्मीले गत भदौ २५ गते सरुवा भएर जिल्ला प्रशासन कार्यालय खोटाङमा आएका प्रमुख जिल्ला अधिकारी महेशकुमार गुरुङसमक्ष उपभोक्ताका गुनासा राखेका थिए। पत्रकारबाट आएको गुनासापछि प्रजिअ गुरुङको निर्देशनमा होलसेल तथा किराना पसलमा अनुगमन गरिएको हो।

प्रजिअ गुरुङले उपभोक्तालाई खाद्यवस्तु तथा पेय पदार्थ खरिद गर्दा उत्पादन तथा म्याद सकिने मिति अनिवार्य रूपमा जाँच गर्न आग्रह गरेका छन्। म्याद गुज्रेको सामग्री भेटिएमा प्रशासनलाई जानकारी गराउन पनि उनले अनुरोध गरेका छन्।

‘म्याद गुज्रेका सामग्री बिक्री गर्नेलाई पहिलोपटक सजग गराउँछौँ । पुनः भेटिएमा कानुनी कारबाहीको दायरामा ल्याइनेछ,’ गुरुङले भने, ‘उपभोक्ताको स्वास्थ्यमा कसैले पनि खेलबाड गर्न मिल्दैन । उपभोक्ता पनि सजग हुन आवश्यक छ।’

खोटाङमा १० वटा स्थानीय तह छन्। ग्रामीण क्षेत्रमा पुग्ने दैनिक उपभोग्य सामग्रीको मूल्य तथा म्यादबारे उपभोक्ता स्वयंले समेत पर्याप्त ध्यान नदिने गरेको पाइएको छ।

केपिलासगढी गाउँपालिका–१ फेदीका स्थानीय लक्ष्मण साम्पाङले गाउँमा बिक्रीका लागि ट्र्याक्टरमार्फत पठाइएका चामललगायत दैनिक उपभोग्य सामग्रीसमेत म्याद गुज्रिएको भेटिने गरेको बताएका छन्। त्यस्ता सामग्री नियन्त्रणका लागि सम्बन्धित निकायलाई अनुरोध गर्दा समेत चासो नदिएको उनको आरोप छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij