काठमाडौँ । अन्डमान सागर तथा आसपासको क्षेत्रमा विकसित न्यूनचापीय क्षेत्र क्रमशः शक्तिशाली बन्दै गएको छ। मौसम पूर्वानुमान संस्थाहरूका अनुसार यो प्रणाली थप बलियो बनेमा सोमबारसम्म चक्रवातमा परिणत हुन सक्ने सम्भावना छ।
नेपालमा उक्त प्रणालीको प्रभाव कति र कुन क्षेत्रमा पर्छ भन्ने विषयमा भने अहिले नै यकिन गर्न नसकिने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। प्रणाली निरन्तर निगरानीमा रहेको र हालसम्मका मौसमी प्रक्षेपणले नेपालमा समेत प्रभाव पर्न सक्ने देखाए पनि प्रभावको तीव्रता भने केही दिनपछि मात्र स्पष्ट हुने महाशाखाको भनाइ छ।
महाशाखाका मौसमविद् रोजन लामिछानेका अनुसार अन्डमान सागर तथा आसपासमा न्यूनचापीय क्षेत्र विकास भएको पुष्टि भइसकेको छ। तर, यो प्रणाली बलियो बन्दै पश्चिम–उत्तरपश्चिमतर्फ सर्दै बङ्गालको खाडी हुँदै नेपालतर्फ प्रभाव पार्ने हो वा उत्पत्तिकै क्षेत्रमा कमजोर हुने हो भन्ने विषयमा अहिले नै निष्कर्ष निकाल्न सकिने अवस्था छैन।
“चक्रवात बनिसकेको छैन। त्यसैले अहिले नै नेपालमा भीषण वर्षा हुन्छ भनेर भन्न सकिँदैन,” लामिछानेले भन्नुभयो।
चक्रवात नेपाल आउने होइन, त्यसको प्रभाव आउन सक्छ
लामिछानेका अनुसार चक्रवात बने पनि त्यो प्रत्यक्ष रूपमा नेपाल प्रवेश गर्ने होइन। भारतको उत्तरपश्चिमी क्षेत्रमा पुगेपछि त्यसले सिर्जना गर्ने जलवाष्प तथा न्यूनचापीय प्रणालीका कारण नेपालमा वर्षा हुन सक्नेछ।
उहाँले भन्नुभयो, “जुन दिन त्यो चक्रवात खस्छ, त्यसपछि मात्र नेपालका कुन स्थानमा कत्तिको असर पर्न सक्छ भन्न सकिन्छ।”
मौसम विज्ञानका अनुसार चक्रवातको शक्ति र त्यसको मार्गका आधारमा प्रभाव पर्ने क्षेत्र तथा वर्षाको मात्रा अनुमान गर्न सकिन्छ। कतिपय अवस्थामा सुरुमा शक्तिशाली देखिएको प्रणाली उत्पत्ति भएकै क्षेत्रमा कमजोर भएर हराउने गरेको पनि मौसमविद्हरू बताउँछन्।
धानबाली भित्र्याउने बेला सतर्क रहन आग्रह
मौसम पूर्वानुमान महाशाखाले अहिले धानबाली भित्र्याउने समय भएकाले किसानलाई विशेष सतर्कता अपनाउन आग्रह गरेको छ।
मौसमविद् लामिछानेले तत्काल धान नकाट्न तथा मौसमको अवस्था हेरेर मात्र बाली भित्र्याउन सुझाव दिनुभएको छ।
“सावधान रहनु पर्छ। अहिले धानबाली भित्र्याउने बेला छ। तत्काल धान नकाट्न अनुरोध गर्छौँ,” उहाँले भन्नुभयो।
बिहीबारदेखि नेपालमा वर्षा बढ्न सक्ने
त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम केन्द्रीय विभागका सहप्राध्यापक डा. विनोद पोखरेलले भने विकसित न्यूनचापीय प्रणालीको प्रभाव नेपालमा तुलनात्मक रूपमा बलियो पर्न सक्ने सम्भावना रहेको बताउनुभएको छ।
उहाँका अनुसार विभिन्न मौसमी प्रक्षेपण मोडेलको अध्ययन गर्दा भारतको उत्तरपश्चिमी क्षेत्रमा पर्ने पञ्जाब, हरियाणा, राजस्थान र दिल्ली आसपास मनसुन प्रणाली अन्त्य हुने अवस्थामा पुगेको छ।
नेपालमा भने मनसुन अझै सक्रिय रहेकाले उक्त प्रणालीको प्रभाव नेपालतर्फ मोडिन सक्ने सम्भावना रहेको उहाँको भनाइ छ। त्यसबाट नेपालका विभिन्न क्षेत्रमा सामान्यभन्दा बढी वर्षा हुन सक्ने अनुमान गरिएको छ।
विभिन्न मौसमी गणना तथा प्रक्षेपण प्रविधिले केही स्थानमा पाँच सय मिलिमिटरभन्दा बढी वर्षा हुन सक्ने सम्भावना समेत देखाएको डा. पोखरेलले बताउनुभयो।
उहाँका अनुसार आउँदो बिहीबारदेखि नेपालका विभिन्न क्षेत्रमा अधिक वर्षाको सम्भावना बढ्न सक्ने भएकाले सम्भावित जोखिमलाई ध्यानमा राख्दै पूर्वतयारी र सतर्कता अपनाउन आवश्यक छ।
‘अहिले नै आत्तिनुपर्ने अवस्था छैन, तर पूर्वतयारी आवश्यक’
मौसमविद्हरूले न्यूनचापीय प्रणालीको विकासक्रम अझै परिवर्तन हुन सक्ने भएकाले अहिले नै नेपालमा ठूलो विपद् हुने निष्कर्ष निकाल्न नहुने बताएका छन्। तर, प्रणाली बलियो बन्दै गएमा यसको मार्ग र प्रभावबारे नयाँ पूर्वानुमान सार्वजनिक हुने भएकाले नियमित मौसम सूचना पछ्याउन आवश्यक देखिएको छ।
विशेषगरी किसान, नदी तथा खोलानाला आसपासका बासिन्दा र यात्रा गर्नेहरूले आगामी दिनको मौसम पूर्वानुमानलाई ध्यान दिनुपर्ने मौसमविद्हरूको सुझाव छ।