२०८३ असोज ४ आइतबार

चाडपर्वका लागि कोरला नाकाबाट भित्रिए ४१९ भेडाच्याङ्ग्रा

ई आर्थिक    आइतबार, असोज ४ २०८३
114
Shares
चाडपर्वका लागि कोरला नाकाबाट भित्रिए ४१९ भेडाच्याङ्ग्रा

मुक्तिनाथ, मुस्ताङ । चाडपर्वलाई लक्षित गर्दै चीनको तिब्बत हुँदै लिजी–नेचुङ (कोरला) नाकाबाट भेडाच्याङ्ग्रा नेपाल भित्रिन थालेका छन्। पाँच वर्षपछि पहिलोपटक मुस्ताङका व्यवसायीले यही नाका हुँदै तिब्बतबाट भेडाच्याङ्ग्रा ल्याएका हुन्।

चीनसँग जोडिएका अन्य नाका बन्द भएपछि यसपटक कोरला नाकाबाट चार सय १९ वटा भेडाच्याङ्ग्रा नेपाल भित्रिएका छन्। तिब्बतको ढोङ्वासेन हुँदै उपल्लो मुस्ताङका व्यवसायीले खरिद गरेर ती भेडाच्याङ्ग्रा ल्याएका हुन्।

पशु क्वारेन्टाइन पोखराका प्रमुख वरिष्ठ पशु चिकित्सक डा. गणेश केसीका अनुसार नेपाल भित्रिएका भेडाच्याङ्ग्राको क्वारेन्टाइन परीक्षण गरिएको छ। क्वारेन्टाइन ऐनअनुसार आयात गरिएका पशुलाई कम्तीमा एक सातासम्म स्थानीय भेडाच्याङ्ग्राको बथानमा मिसाउन नपाइने व्यवस्था छ। सो अवधिमा प्राविधिक टोलीले निगरानी गर्नेछ।

तिब्बतबाट आएका भेडाच्याङ्ग्रासँग पशु निरोगिताको प्रमाणपत्र भए पनि खोपसम्बन्धी विवरण उल्लेख नभएपछि पशु क्वारेन्टाइन केन्द्रले लोमन्थाङ गाउँपालिकासँगको समन्वयमा खोप लगाएको डा. केसीले जानकारी दिनुभयो।

नेपालमा कुनै पनि मुलुकबाट पशुचौपाया आयात गर्नुअघि क्वारेन्टाइन कार्यालयलाई पशु निरोगिताको स्वास्थ्य प्रमाणपत्र र खोप लगाएको विवरण कम्तीमा एक साताअघि उपलब्ध गराउनुपर्ने प्रावधान छ।

पाँच वर्षपछि पुनः सुरु भयो आयात

विगत पाँच वर्षदेखि तिब्बतबाट कोरला नाका हुँदै भेडाच्याङ्ग्रा ल्याउन व्यवसायीले छाडेका थिए। तिब्बती भेडाच्याङ्ग्रा लामो समयसम्म खोरमा राखिने भएकाले पैदल मार्गबाट लैजाँदा हिँड्न नसक्ने र मुस्ताङका स्थानीय बथानबाट छुट्टिने समस्या देखिएपछि व्यवसायीले खरिद गर्न छाडेका थिए।

कोरला नाका व्यावसायिक रूपमा सञ्चालनमा आएको एक वर्षपछि पहिलोपटक यही नाकाबाट भेडाच्याङ्ग्रा भित्रिएका हुन्।

विगतमा मुस्ताङ र तिब्बतका व्यवसायीबीच वस्तु साटासाट अर्थात् ‘बार्टर’ प्रणालीमा कारोबार हुने गरेको थियो। तिब्बती व्यापारीले खाद्यान्न तथा पस्मिनाका सामग्री दिएबापत मुस्ताङबाट भेडाच्याङ्ग्रा लैजाने गरेका थिए। पछिल्लो समय तिब्बती व्यापारीले नगदमा कारोबार गर्न थालेपछि मुस्ताङका व्यवसायीले आफ्नै खोर विस्तार गरी स्थानीय उत्पादन बढाउन थालेका थिए।

क्वारेन्टाइनमा जनशक्ति अभाव

कोरला नाकाबाट पशुपन्छी तथा पशुजन्य वस्तु आयातका लागि कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत पशुपन्छी क्वारेन्टाइनमा पशु चिकित्सकसहित तीन जनाको दरबन्दी रहेको छ। तर, हाल नेचुङमा एक जना प्राविधिक मात्रै कार्यरत छन् भने बाँकी काम पोखरा कार्यालयबाटै हेर्ने गरिएको छ।

चीनबाट आयात हुने पशुजन्य वस्तुको नेचुङ र पोखराबाहेक थप परीक्षण आवश्यक परेमा सिलबन्दी गरी सिधै चोभारस्थित सुख्खा बन्दरगाह पठाउने व्यवस्था रहेको छ।

एक महिनाअघि पनि कोरला नाकाबाट १० कन्टेनर भेडाको ऊन नेपाल भित्रिएको थियो।

चाडपर्वमा भेडाच्याङ्ग्राको माग बढ्ने

समुद्री सतहबाट २ हजार ५०० मिटरभन्दा माथिको उचाइमा कठोर हावापानीमा जडीबुटी खाँदै करिब तीनदेखि पाँच वर्षसम्म हुर्काइएका मुस्ताङका भेडाच्याङ्ग्रा स्वादिष्ट र स्वास्थ्यका लागि उपयोगी मानिने भएकाले चाडपर्वका समयमा यसको माग बढ्ने गरेको छ।

गत वर्ष मुस्ताङमा भेडाच्याङ्ग्राको कारोबार करिब ३५ करोड रुपैयाँको हाराहारीमा भएको थियो। यस वर्ष तिब्बतबाट समेत भेडाच्याङ्ग्रा भित्रिन थालेकाले बजारमा मूल्य केही सस्तो हुन सक्ने व्यवसायी तथा सरोकारवालाको अनुमान छ।

यसैबीच, सन् १९६० को दशकमा चीनमा तिब्बत गाभिएपछि तिब्बती खम्पाहरूले नेपाली भूमि प्रयोग गरी विद्रोह गरेपछि कोरला नाकाबाट हुने आवतजावत तथा व्यापारमा अवरोध आएको थियो। वि.सं. २०८० कात्तिक २७ गते नाका औपचारिक रूपमा सञ्चालनमा आएपछि पहिलोपटक कृषि तथा पशुजन्य वस्तुको जाँचपासका लागि क्वारेन्टाइन सेवालाई सक्रिय बनाउने प्रयास भइरहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij