२०८३ असोज ५ सोमबार

उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार, नौ स्थानीय तहको सहकार्य

ई आर्थिक    आइतबार, असोज ४ २०८३
798
Shares
उपत्यकामा रात्रिकालीन बस सेवा विस्तार, नौ स्थानीय तहको सहकार्य

काठमाडौं । काठमाडौं उपत्यकामा रातको समयमा सार्वजनिक यातायात सहज बनाउन नौ स्थानीय तहले रात्रिकालीन बस सेवा सञ्चालनका लागि साझा यातायातसँग सहकार्य गरेका छन्। काठमाडौं महानगरपालिकाको नेतृत्वमा सुरु भएको परीक्षण सेवालाई थप रुटमा विस्तार गर्दै नियमित र दीगो रूपमा सञ्चालन गर्ने समझदारी स्थानीय तह र साझा यातायातबीच भएको हो।

संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा स्थानीय तहका प्रमुख तथा प्रतिनिधि र साझा यातायातका अध्यक्ष शुशिलराज प्याकुरेलबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो।

समझदारीमा काठमाडौं र ललितपुर महानगरपालिकासहित बुढानीलकण्ठ, गोदावरी, चन्द्रागिरी, कीर्तिपुर, भक्तपुर, सूर्यविनायक र मध्यपुर थिमी नगरपालिका सहभागी छन्।

रात्रिकालीन सेवामार्फत राति काम गर्ने श्रमिकदेखि व्यवसायी, बिरामी, विद्यार्थी तथा स्वदेशी–विदेशी यात्रुलाई सुरक्षित र भरपर्दो सार्वजनिक यातायात उपलब्ध गराउने लक्ष्य राखिएको छ।

६ रुटमा ३० बस
विस्तारित सेवाअन्तर्गत उपत्यकाका ६ वटा रुटमा ३० वटा बस सञ्चालन गरिनेछ।

जगाती–सूर्यविनायक हुँदै ठमेलसम्मको रुटमा ६ वटा, लगनखेल–बुढानीलकण्ठ रुटलाई गोदावरीसम्म विस्तार गरेर ६ वटा तथा चक्रपथमा घडीको दिशामा र विपरीत दिशामा गरी ८ वटा बस चलाइनेछ।

त्यस्तै कीर्तिपुर–जमल रुटमा ४, टाखेल–ठमेलमा २ तथा नागढुंगा–एयरपोर्ट रुटमा ४ वटा बस सञ्चालन गर्ने योजना छ।

यसअघि लगनखेल–बुढानीलकण्ठ र नागढुंगा–एयरपोर्ट रुटमा सात वटा बसमार्फत राति ८ बजेदेखि ११ बजेसम्म परीक्षण सेवा सञ्चालन गरिएको थियो। परीक्षणबाट रातको समयमा सार्वजनिक यातायातको आवश्यकता रहेको निष्कर्षपछि सेवा विस्तार गरिएको हो।

खर्च अपुग भए स्थानीय तहले व्यहोर्ने
रात्रिकालीन बस सेवाबाट उठ्ने टिकट शुल्कले सञ्चालन खर्च नपुगेमा त्यसको भार स्थानीय तहले व्यहोर्ने व्यवस्था गरिएको छ।

समझदारीअनुसार अपुग रकमको ५० प्रतिशत सम्बन्धित सात नगरपालिकाले समान रूपमा व्यहोर्नेछन्। बाँकी ५० प्रतिशत रकममध्ये काठमाडौं र ललितपुर महानगरपालिकाले समान रूपमा १८ दशमलव ५५ प्रतिशत तथा अन्य सात नगरपालिकाले नौ–नौ प्रतिशतका दरले योगदान गर्नेछन्।

साझा यातायातले सञ्चालन खर्च अपुग भएमा त्रैमासिक रूपमा आवश्यक रकम माग गर्न सक्ने व्यवस्था पनि समझदारीमा राखिएको छ।

डिजिटल बस स्टप र चार्जिङ स्टेसन बनाइने
रात्रिकालीन बस सेवाका लागि यात्रु चढ्ने र ओर्लने स्थान सम्बन्धित स्थानीय तहले निर्धारण गर्नेछन्। ती स्थानमा चालु आर्थिक वर्षभित्र डिजिटल साइनेजसहितको बस स्टप निर्माण गर्ने जिम्मेवारी साझा यातायातलाई दिइएको छ।

त्यस्तै निर्धारित रुटको अन्तिम बिन्दुमा विद्युतीय बसका लागि चार्जिङ स्टेसन निर्माण गर्न स्थानीय तहले आवश्यक जग्गा उपलब्ध गराउने र साझा यातायातले उपकरण जडान गर्ने सहमति भएको छ। चार्जिङ स्टेसनको सुरक्षाको जिम्मेवारी भने सम्बन्धित स्थानीय तहले लिनेछन्।

साझा यातायातले टिकट बिक्रीमा हुने आर्थिक चुहावट घटाउने उद्देश्यले असोज १ गतेदेखि डिजिटल टिकटिङ प्रणालीसमेत सञ्चालनमा ल्याएको छ। यात्रुले क्यूआरमार्फत वा नगद तिरेर टिकट लिन सक्ने व्यवस्था गरिएको छ।

चक्रपथमा सेवा विस्तार भएपछि एक ठाउँमा बस परिवर्तन गरेर उपत्यकाका विभिन्न क्षेत्रमा यात्रा गर्न सकिने व्यवस्था मिलाइनेछ। यस्तो यात्रामा अधिकतम ८० रुपैयाँसम्म भाडा लाग्ने बताइएको छ।

काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले रात्रिकालीन बस सेवालाई परीक्षणबाट नियमित र दीगो सेवाका रूपमा अघि बढाउने योजना रहेको बताएकी छन्। स्थानीय तहबीचको सहकार्यसँगै सेवा थप क्षेत्रमा विस्तार गरिने उनको भनाइ छ।

ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले पनि संघीय तहबाट ठूला सार्वजनिक यातायात आयोजना अघि नबढेको अवस्थामा स्थानीय तहको सहकार्यबाट उपत्यकाको यातायात व्यवस्थापनमा पहल गरिएको बताएका छन्।

साझा यातायातका अध्यक्ष शुशिलराज प्याकुरेलले स्थानीय तहलाई साझेदारका रूपमा जोडेर सेवा विस्तार गर्न पाउनु संस्थाका लागि महत्वपूर्ण भएको बताएका छन्।

हाल साझा यातायातसँग १११ वटा बस छन्। संस्थामा नेपाल सरकारको तीन अर्ब रुपैयाँ र काठमाडौं महानगरपालिकाको १५ करोड रुपैयाँ बराबरको सेयर लगानी रहेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij