चितवन । काठमाडौं उपत्यकामा एलपी ग्यासको माग बढेपछि चितवनसहित विभिन्न जिल्लाका ग्यास उद्योगले भरिएका सिलिन्डर धमाधम राजधानी पठाउन थालेका छन्।
चितवन, नवलपरासी (बर्दघाट–सुस्तापूर्व), मकवानपुर, बारा, पर्सा र धनुषामा रहेका ग्यास उद्योगले काठमाडौंको माग धान्न दैनिक करिब १४ घण्टा बोटलिङको काम गरिरहेका छन्।
नेपाल एलपी ग्यास उद्योग सङ्घका सदस्य विमल कालाखेतीका अनुसार चितवनका बाबा, साइबाबा, नेपाल ग्यास गण्डकी, नवलपरासीको जानकी तथा धनुषाको नेपाल ग्यास र नारायणी ग्यासले दैनिक दुई सिफ्टमा करिब १५ हजार सिलिन्डर बोटलिङ गरिरहेका छन्।
यी प्लान्टमा रहेका २४ वटा बोटलिङ उपकरणमार्फत एक मिनेटमा २४ वटासम्म सिलिन्डर भर्ने गरिएको कालाखेतीले बताए।
त्यसैगरी धनुषाको नोबेल, बाराका वान (एनएल), जगदम्बा, लियो र अम्बर ग्यास, पर्साका सुप्पर र मनोज, मकवानपुरको साहरा तथा नवलपरासीको चन्डेश्वरी ग्यासले पनि बोटलिङ गरेर सिलिन्डर काठमाडौं उपत्यका पठाइरहेका छन्।
यी उद्योगहरूले दैनिक करिब १० हजार सिलिन्डर भर्ने गरेका छन्। उत्पादित सिलिन्डरमध्ये करिब आधा स्थानीय बजारमा खपत हुने र बाँकी काठमाडौं पठाउने गरिएको बताइएको छ।
कालाखेतीका अनुसार ट्रक व्यवस्थापनदेखि बुलेटमार्फत ग्यास ल्याउने, बोटलिङ गर्ने र बजारसम्म पठाउने काममा अहिले सबै उद्योगी सक्रिय छन्।
माग दोब्बरभन्दा बढी
सामान्य अवस्थामा काठमाडौं उपत्यकामा दैनिक करिब ४० हजार सिलिन्डर ग्यासको माग हुने गरेकोमा अहिले माग बढेर करिब एक लाख सिलिन्डर पुगेको व्यवसायीहरूले बताएका छन्।
बुधबार मात्रै विभिन्न स्थानबाट ५३ हजार ४६९ सिलिन्डर काठमाडौं पठाइएको थियो। दैनिक ढुवानी हुने सिलिन्डरको सङ्ख्या भने माग र ढुवानी क्षमताअनुसार केही तलमाथि हुने गरेको छ।
पहिरो र सडकका कारण ढुवानीमा चुनौती
चितवनमा भरिएका सिलिन्डर हेटौँडा हुँदै काठमाडौं पठाउने गरिएको छ। तर साँघुरो सडक, अत्यधिक सवारी चाप र बेलाबेलामा जाने पहिरोका कारण ग्यास ढुवानीमा समस्या भइरहेको व्यवसायीहरूको भनाइ छ।
काठमाडौंमा बढ्दो माग पूरा गर्न उद्योगहरूले उत्पादन र ढुवानीलाई तीव्रता दिए पनि सडकको अवस्थाका कारण आपूर्ति व्यवस्थापन चुनौतीपूर्ण बनेको छ।