२०८३ भाद्र २६ शुक्रबार

सिभिल सहकारी ठगी : इच्छाराज तामाङलाई ५ वर्ष ६ महिना कैद, अन्यलाई कैद तथा जरिवाना कति ?

ई आर्थिक    शुक्रबार, भाद्र २६ २०८३
247
Shares
सिभिल सहकारी ठगी : इच्छाराज तामाङलाई ५ वर्ष ६ महिना कैद, अन्यलाई कैद तथा जरिवाना कति ?

काठमाडौं । जिल्ला अदालत काठमाडौंले सिभिल सहकारी ठगी प्रकरणमा संविधान सभा सदस्यसमेत रहेका इच्छाराज तामाङलाई ५ वर्ष ६ महिना कैद सजाय सुनाएको छ।

न्यायाधीश कृतबहादुर बोहराको इजलासले भदौ ११ गते तामाङलाई कसुरदार ठहर गरेको थियो। सोही इजलासले बिहीबार सजाय निर्धारण गर्दै तामाङलाई ५ वर्ष ६ महिना कैद, ५० हजार रुपैयाँ जरिवाना तथा बिगोअनुसार दामासाहीले कायम हुने रकम जफत गर्ने आदेश गरेको हो।

सिभिल सहकारी ठगीसम्बन्धी मुद्दामा कुल ५ अर्ब ६७ करोड ५५ लाख २४ हजार ३९७ रुपैयाँ बिगो दाबी गरिएको थियो।

जिल्ला अदालतका सूचना अधिकारी शिव खतिवडाका अनुसार तामाङसहित १६ जना प्रतिवादीलाई कैद तथा जरिवानाको सजाय तोकिएको छ। अदालतले १६ मध्ये १५ प्रतिवादीको हकमा मूल बिगोको दामासाही कायम हुने आदेश गरेको छ।

अदालतले प्रतिवादी दुर्गाप्रसाद सङ्ग्रौलालाई ६ महिना कैद, ५० हजार रुपैयाँ जरिवाना तथा बिगो बराबरको दामासाही भराउने आदेश गरेको छ।

त्यस्तै, जयन्द्रलाल श्रेष्ठ, खेमनाथ डल्लाकोटी र प्रवीणप्रसाद प्रधानलाई जनही ६ महिना कैद र ५० हजार रुपैयाँ जरिवाना सुनाइएको छ। केशवलाल श्रेष्ठलाई ५ वर्ष कैद र ४५ हजार रुपैयाँ जरिवाना तोकिएको छ।

रामकृष्ण पौडेल र हरिहरप्रसाद लामिछानेलाई जनही १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना हुने अदालतको आदेश छ। मुकुन्दप्रसाद नेउपानेलाई ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना तथा दानहिरा तुलाधरलाई १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना तोकिएको छ।

यस्तै, नगेन्द्र विमली, रामराज मास्के र हरिप्रसाद रिसाललाई जनही ६ महिना कैद र ५ हजार रुपैयाँ जरिवाना सुनाइएको छ। सिर्जना शाक्य तामाङलाई १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना तोकिएको छ।

कसुरदार ठहर भएका लालकाजी गुरुङलाई १ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना सुनाइएको छ। अदालतले गुरुङले सहकारीबाट लिएको ६ करोड ९० लाख रुपैयाँको हालसम्मको साँवा तथा ब्याजसमेत भराउन आदेश दिएको छ।

त्यसैगरी, मुद्दामा कायम भएको मूल बिगोबाट ऋणको साँवा–ब्याज घटाउँदा बाँकी रहने बिगो दामासाहीका आधारमा भराउने आदेशसमेत गुरुङको हकमा भएको छ।

अदालतले प्रतिवादी मीना गुरुङलाई ५ महिना कैद र ४ हजार रुपैयाँ जरिवाना हुने फैसला गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij