‘एक साताभित्र सुधार गर्नुहोस्, त्यसपछि विशेष टोलीले अनुगमन गर्छ’
काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले वीरगन्ज–पथलैया औद्योगिक करिडोरका उद्योगीलाई सिर्सिया खोला प्रदूषण रोक्न एक साताको समयसीमा दिएकी छन्।
सोमबार मन्त्रालयमा उद्योगीहरूसँग भएको छलफलमा मन्त्री यादवले वातावरण संरक्षणसम्बन्धी कानुनी मापदण्ड पालना नगरी सिर्सिया खोलामा प्रदूषित पानी र फोहोर मिसाउने उद्योगले तत्काल सुधार नगरे कारबाही अघि बढाउने चेतावनी दिइन्।
उनले आगामी साता मन्त्रालयको विशेष टोलीले औद्योगिक करिडोरका उद्योगहरूको स्थलगत निरीक्षण गर्ने र त्यसपछि नियमअनुसार कारबाही प्रक्रिया अघि बढाइने जानकारी दिइन्।
‘तपाईंहरूलाई एक हप्ताको समय छ,’ उद्योगीसँगको बैठकमा मन्त्री यादवले भनिन्, ‘के–के सुधार गर्नुपर्ने हो, आजै थाल्नुहोस्। आगामी साता मन्त्रालयको विशेष टोली स्थलगत निरीक्षणका लागि आउने छ र त्यसपछि नियमअनुसारको प्रक्रिया अगाडि बढाइने छ।’
‘बारम्बार सचेत गराउँदा पनि प्रदूषण रोकिएन’
मन्त्री यादवले वीरगन्ज–पथलैया औद्योगिक करिडोरका अधिकांश उद्योगले उद्योगबाट निस्कने रसायनयुक्त पानी प्रशोधन नगरी सिधै सिर्सिया खोलामा मिसाउने गरेको आरोप लगाइन्।
सिर्सिया खोला प्रदूषण रोक्न पटकपटक उद्योगीलाई सचेत गराए पनि अपेक्षित सुधार नदेखिएको उनको भनाइ छ। खोला प्रदूषणका कारण स्थानीय बासिन्दाबाट निरन्तर गुनासो आइरहेकाले मन्त्रालय यस विषयमा गम्भीर भएको उनले बताइन्।
उद्योगबाट निस्कने दूषित पानी खोलामा मिसाउँदा बारा र पर्साका विभिन्न बस्ती प्रभावित भएको मन्त्री यादवको भनाइ छ। सिमरा, जितपुर, सिर्सिया, ताजपुर, रामगढवा, रामवन, रानीघाटलगायत क्षेत्रका बासिन्दा वर्षौंदेखि सिर्सिया खोलाको प्रदूषणबाट प्रभावित हुँदै आएका छन्।
उनले दूषित पानी र फोहोर व्यवस्थापन नगर्दा स्थानीय जनजीवन, पशुपालन तथा मानव स्वास्थ्यमा गम्भीर असर परेको बताइन्। उद्योगीहरूलाई बैठकलाई औपचारिकतामा मात्र सीमित नगरी तत्काल प्रदूषण नियन्त्रणका काम सुरु गर्न निर्देशन दिइन्।
६ उद्योगलाई १०–१० लाख जरिवाना
सिर्सिया नदीमा फोहोर तथा प्रदूषित पानी मिसाउने उद्योगमाथि यसअघि पनि कारबाही भएको थियो। गत साउनको पहिलो साता उद्योग विभागले ६ वटा उद्योगलाई १० लाख रुपैयाँका दरले जरिवाना गरेको थियो।
जरिवानामा पर्ने उद्योगमा जगदम्बा स्टिल इन्डस्ट्रिज लिमिटेड, हुलास स्टिल इन्डस्ट्रिज प्रालि, शिवशक्ति घिउ उद्योग प्रालि, सुशील वनस्पति प्रालि, अन्नपूर्ण भेजिटेबल प्रोडक्ट्स र अशोक स्टिल इन्डस्ट्रिज प्रालि रहेका थिए।
यसअघि उद्योगी तथा कलकारखानालाई प्रदूषण नियन्त्रणका लागि एक महिनाको समय दिइएको थियो। तोकिएको अवधिमा पनि प्रदूषण नियन्त्रणमा सुधार नदेखिएपछि उद्योग विभागले १२ वटा उद्योगविरुद्ध कारबाही प्रक्रिया अघि बढाएको थियो।
तीमध्ये मधेस प्रदेश सरकारमातहत पर्ने ६ वटा उद्योग तथा कलकारखानालाई आवश्यक कारबाहीका लागि सिफारिस गरिएको विभागले जनाएको थियो।
२१ उद्योगको नमुना परीक्षण, १२ को पानी प्रदूषित
यसअघि वातावरण विभागको प्राविधिकसहितको अनुगमन टोलीले बारा र पर्साका २१ वटा उद्योगको स्थलगत निरीक्षण गरी फोहोर पानीको नमुना संकलन गरेको थियो।
नमुना परीक्षणका क्रममा १२ वटा उद्योगबाट निस्कने पानी प्रदूषित भेटिएपछि कारबाही प्रक्रिया अघि बढाइएको थियो।
वीरगन्ज–पथलैया औद्योगिक करिडोरमा रहेका उद्योगबाट वर्षौंदेखि रसायनयुक्त फोहोर पानी सिर्सिया खोलामा मिसाइँदै आएपछि खोला अत्यधिक प्रदूषित बन्दै गएको छ। स्थानीय किसान तथा बासिन्दाले लामो समयदेखि सिर्सिया खोलालाई प्रदूषणमुक्त बनाई पुनर्जीवन दिन माग गर्दै आएका छन्।