२०८३ भाद्र १७ बुधबार

भोटेकोशी बाढी प्रभावितका लागि सिटी एक्सप्रेसको १ करोड ११ लाख सहयोग

ई आर्थिक    बुधबार, भाद्र १७ २०८३
722
Shares
भोटेकोशी बाढी प्रभावितका लागि सिटी एक्सप्रेसको १ करोड ११ लाख सहयोग

काठमाडौं । सिटी एक्सप्रेस ग्रुपले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा १ करोड ११ लाख रुपैयाँ सहयोग गरेको छ।

प्राकृतिक विपद्का कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवनलगायत जिल्लामा मानवीय तथा भौतिक क्षति भएको र नागरिकको दैनिक जनजीवन प्रभावित बनेको अवस्थामा सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त रकम कोषमा जम्मा गरिएको सिटी एक्सप्रेसले जनाएको छ।

यसैबीच, विपद्को कठिन समयमा विदेशमा रहेका नेपालीले आफ्ना परिवार तथा आफन्तलाई सहज, छिटो र पूर्ण रकमसहित आर्थिक सहयोग पठाउन सकून् भन्ने उद्देश्यले सिटी एक्सप्रेसले विदेशबाट नेपाल पैसा पठाउँदा लाग्ने सेवा शुल्क पूर्ण रूपमा मिनाहा गर्ने निर्णय गरेको छ। कम्पनीका अनुसार उक्त निर्णय बाढी आएको दिनदेखि नै लागू गरिएको हो।

सिटी एक्सप्रेसले विनाशकारी बाढीमा परी ज्यान गुमाएका नागरिकप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ।

त्यस्तै, विपद्को संवेदनशील समयमा उद्धार, राहत तथा पुनःस्थापनाका लागि अहोरात्र खटिरहेका सुरक्षाकर्मी, स्वयंसेवक, स्थानीय समुदाय तथा सम्बन्धित निकायप्रति कम्पनीले कृतज्ञता व्यक्त गरेको छ।

सिटी एक्सप्रेस मनी ट्रान्सफरले विगत २० वर्षदेखि विश्वका विभिन्न मुलुकबाट नेपालमा विप्रेषण सेवा प्रदान गर्दै आएको छ। कम्पनीले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै आएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij