काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चिलिमे जलविद्युत् परियोजनामा सम्पर्कविहीन रहेका राष्ट्रसेवकका परिवारजनलाई भेट गरी दुःखको यस घडीमा सरकार उहाँहरूको साथमा रहेको बताउनुभएको छ ।
परिवारजनसँगको भेटमा मन्त्री श्रेष्ठले एक सातासमम आफन्तको अवस्थाबारे कुनै जानकारी नपाउँदाको पीडा अत्यन्त गहिरो हुने भन्दै त्यसलाई शब्दमा व्यक्त गर्न नसकिने बताउनुभयो । सम्पर्कविहीन नागरिक तथा राष्ट्रसेवकको अवस्थाबारे जानकारी पाउन नसक्दा सरकार पनि उत्तिकै मर्माहत रहेको उहाँको भनाइ थियो ।
‘हरेक जीवन अमूल्य छ । एउटा पनि जीवनको खोजीमा राज्यले कुनै कसर बाँकी राख्नु हुँदैन र राखेको पनि छैन,’ मन्त्री श्रेष्ठले भन्नुभयो । खोजी तथा उद्धारका लागि राज्यका सम्पूर्ण संयन्त्र, दक्ष जनशक्ति, प्रविधि र उपलब्ध स्रोत साधन परिचालन गरिएको उहाँले जानकारी दिनुभयो । उद्धार प्रयासमा प्रविधि, दक्ष जनशक्ति र स्रोतको कुनै कमी हुन नदिइएको स्पष्ट पार्दै मन्त्री श्रेष्ठले एक सातासम्म पनि अपेक्षित परिणाम प्राप्त हुन नसक्दा चिन्ता बढ्दै गएको बताउनुभयो ।
सरकारले कठिन परिस्थितिमा पनि खोजी तथा उद्धारलाई निरन्तरता दिइरहेको उल्लेख गर्दै उहाँले परिवारजनलाई धैर्य नगुमाउन आग्रह गर्नुभयो । ‘हामी अन्तिम सम्भावनासम्म प्रयास गरिरहनेछौँ । अझै आशा मार्ने बेला भएको छैन । प्रयास र प्रार्थना सँगसँगै गरौँ, आशा जीवित राखौँ,’ उहाँले भन्नुभयो ।
मन्त्री श्रेष्ठले सरकार आफ्ना नागरिक तथा राष्ट्रसेवकका परिवारसँगै रहेको उल्लेख गर्दै कठिन घडीमा परिवारलाई एक्लो महसुस हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
भेटका क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयकी सचिव सरिता दवाडीले सरकारका विभिन्न निकायबीच समन्वय र सहकार्य गर्दै खोजी तथा उद्धारको काम अघि बढिरहेको जानकारी दिनुभयो । नागरिकको जीवन रक्षा गर्नु सरकारको प्रमुख दायित्व भएकाले सोहीअनुसार उपलब्ध सबै उपायको प्रयोग भइरहेको उहाँले बताउनुभयो ।
त्यस्तै, चिलिमे जलविद्युत् कम्पनीका अध्यक्षसमेत रहनुभएका नेपाल विद्युत् प्राधिकरणका कामु कार्यकारी निर्देशक दीर्घायू कुमार श्रेष्ठले हालसम्म भइरहेका खोजी तथा उद्धारका प्रयासबारे परिवारजनलाई जानकारी दिनुभयो ।
उद्धार तथा खोजी कार्यलाई प्रभावकारी बनाउन कम्पनीका तर्फबाट आवश्यक सबै प्रयास भइरहेको उहाँले बताउनुभयो ।