काठमाडौं । भोटेकोशी बाढीका कारण त्यस क्षेत्रका विभिन्न जलविद्युत् आयोजनाको सुरुङमा फसेका व्यक्तिको खोज तथा उद्धारलाई तीव्र पारिएको छ।
नेपाली सेनाको कमाण्डमा विशेषज्ञसहितको टोलीले विद्युत् आयोजनाका सुरुङलाई केन्द्रित गरी तीन दिनदेखि खोज तथा उद्धार अभियानलाई निरन्तरता दिइरहेको छ।
सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयका अनुसार त्रिशूली-३ ‘बी’को सुरुङमा विज्ञसहितको फौज खटिइ खोज तथा उद्धार जारी छ।
विदेशीसहितको संयुक्त खोज तथा उद्धार टोलीले चिलिमे हाइड्रोको सुरुङभित्र करिब १०० मिटर प्रवेश गरी हराइरहेका व्यक्तिको खोजी गरिरहेको छ। त्यसक्रममा सुरुङभित्रको भाग हिलो माटोले पुरिएको पाइएको र त्यहाँबाट दुईवटा शव संकलन गरिएको सेनाले जनाएको छ।
माथिल्लो त्रिशूली-१ मा टनेलभित्र करिब ३०० मिटरसम्म प्रवेश गरी खोजी गरिएको र त्यहाँबाट एउटा शव संकलन गरिएको छ। यस्तै, लाङटाङ आयोजनाको सुरुङमा खोज तथा उद्धार भइरहेको सेनाले जनाएको छ।
त्रिशूली-३ ‘ए’ मा आज बिहान करिब २ बजे विस्फोटक पदार्थ प्रयोग गरी सुरुङ खोल्ने काम गरिएको थियो। त्यहाँ दुईवटा एक्स्काभेटरमार्फत १० मिटर मुनि प्वाल बनाउने, सुरुङभित्रको पानी, हिलो र लेदोलाई सफा गर्ने काम जारी छ।
बाढीबाट प्रभावित क्षेत्रका जङ्ल, डाँडा, खोला र वस्ती इलाकामा उद्धारको आवश्यकता मूल्यांकन गर्न पैदल गस्ती जारी रहेको निर्देशनालयले जनाएको छ।
सैनिक प्रवक्ता राजाराम बस्नेतका अनुसार स्याफ्रुबेँसी इलाकामा राहत तथा रासन वितरणसँगै लाङटाङ हाइड्रो इलाकामा निरीक्षण गरिएको छ। रसुवाको धुन्चे र नुवाकोटको त्रिशूलीमा सेनाले स्थापना गरेको आपतकालीन उपचार केन्द्रमा हालसम्म दुई हजार ६३२ ले स्वास्थ्य सेवा लिएका छन्।
रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, गोरखा, तनहुँ, चितवन, नवलपरासी पूर्व र नवलपरासी पश्चिमका प्रभावित क्षेत्रमा आठ हजार ९०० भन्दा बढी फौज परिचालित भएका छन्।
सुरक्षा फौजले घाइतेको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, अवरुद्ध सडक सञ्चालन एवम् आपतकालीन उपचारलाई जारी राखेका छन्। हालसम्म करिब २३ हजार १९४ किलो राहत सामग्री धुन्चेलगायत प्रभावित इलाकामा हेलिकप्टरबाट ढुवानी गरिएको सेनाले जनाएको छ।
यही भदौ १० देखि आजसम्म सेनाले ३३८ विदेशीसहित कुल तीन हजार ५९६ जनाको उद्धार गरेको छ। रासस