२०८३ भाद्र १५ सोमबार

विनाशकारी बाढीको पाँच दिनपछि धुन्चेमा जेनेरेटर, फोन सम्पर्कका लागि सहज

ई आर्थिक    सोमबार, भाद्र १५ २०८३
551
Shares
विनाशकारी बाढीको पाँच दिनपछि धुन्चेमा जेनेरेटर, फोन सम्पर्कका लागि सहज

रसुवा ।  जिल्ला सदरमुकाम धुन्चेमा मोबाइल फोन चार्जका लागि जेनेरेटर ल्याइएको छ। भोटेकोशी नदीमा यही भदौ १० गते आएको अकल्पनीय विनाशकारी बाढीका कारण विगत पाँच दिनदेखि जिल्लाभर विद्युत् सेवा पूर्णरूपमा अवरुद्ध छ।

रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरुको अन्तर्राष्ट्रिय महासंघ (आईएफआरसी)का सहयोगमा नेपाल रेडक्रस सोसाइटीले जेनेरेटर यहाँ ल्याएको हो।

विद्युत सेवा अवरुद्ध हुँदा स्थानीयवासीसहित धुन्चे रहेका बाढीपीडित र तीर्थालुहरु आफन्त तथा बाहिरी संसारसँगको सम्पर्कबाट विच्छेद हुनुपरेको थियो। यसका लागि नेपाल रेडक्रस सोसाइटी रसुवा शाखा र तिलगंगा आँखा केन्द्रले संयुक्त पहल गरेका थिए। सदरमुकाम धुन्चेमा जेनेरेटर ल्याइएसँगै निःशुल्क मोबाइल चार्ज गर्ने व्यवस्था मिलाइएको छ।

अहिले १०० भन्दा बढीले एकसाथ मोबाइल चार्ज गरिरहेको नेपाल रेडक्रसले जनाएको छ। यसबाट टाढा रहेका आफन्तलाई ‘म सुरक्षित छु’ भन्ने सन्देश पठाउन सहज बनेको छ। सदरमुकाममा जेनेरेटरमार्फत मोबाइल चार्ज गर्न पाउँदा स्थानीयवासी तथा टाढा-टाढाबाट आएका सेवाग्राहीलाई राहत मिलेको छ। चार्ज गर्ने सुविधा पाएपछि जिल्लावासीले आफ्ना आफन्तहरूसँग पुनः सम्पर्क स्थापित गर्न सफल भएका छन्।

एकजना बाढीप्रभावितले भने, ‘फोन कलले टुटेको आशालाई जोडेको छ, चिन्ताले भरिएका मनलाई सान्त्वना दिएको छ।’

बाढीका कारण अवरुद्ध बनेको विद्युत् सेवा पुनः सञ्चालनका लागि प्राविधिक टोली खटिरहेको र चाँडै सेवा सुचारु गराउन पहल भइरहेको जनाइएको छ। रासस

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij