रसुवा । रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि प्रभावित रसुवागढी जलविद्युत् आयोजना (RHPL) को सुरुङभित्र गरिएको खोजीमा कुनै पनि मानिस फेला नपरेपछि नेपाली सेनाको उद्धार टोली फर्किएको छ।
सुरुङको अन्तिम भागमा मानिसहरू फसेको आशंका भएपछि नेपाली सेनाको नेतृत्वमा इन्जिनियर तथा ड्रोन टोलीसहित उद्धार तथा खोजी अभियान सञ्चालन गरिएको थियो।
खोजीका क्रममा उद्धार टोली सुरुङको भित्री भाग हुँदै अन्तिम बिन्दुसम्म पुगेको थियो। सुरुङको अन्तिम भागमा ड्रोनसमेत उडाएर विस्तृत खोजी गर्दा पनि कुनै मानवीय उपस्थिति फेला नपरेको सेनाले जनाएको छ।

सुरुङभित्र कुनै मानिस नरहेको पुष्टि भएपछि खोजी कार्य सम्पन्न गरिएको हो। त्यसपछि नेपाली सेनाको टोली रसुवाको सदरमुकाम धुन्चेतर्फ फर्किएको छ।
भोटेकोशी नदीमा आएको बाढीपछि रसुवागढी जलविद्युत् आयोजनाको सुरुङमा कामदारहरू फसेको हुनसक्ने आशंकामा खोजी अभियान सञ्चालन गरिएको थियो। सेनाको टोलीले सुरुङको सम्भावित सबै भागमा पुगेर खोजी गरे पनि मानिस फेला नपरेपछि उद्धार कार्य टुंगिएको हो।