२०८३ भाद्र १४ आइतबार

फुर्केखोला पुल बाढीले बगाएपछि अवरुद्ध धादिङबेँसीको सडक सम्पर्क वैकल्पिक मार्गबाट पुनः सञ्चालनमा

ई आर्थिक    आइतबार, भाद्र १४ २०८३
570
Shares
फुर्केखोला पुल बाढीले बगाएपछि अवरुद्ध धादिङबेँसीको सडक सम्पर्क वैकल्पिक मार्गबाट पुनः सञ्चालनमा

काठमाडौं । बाढीले फुर्केखोलाको पुल बगाएपछि अवरुद्ध भएको धादिङ सदरमुकाम धादिङबेँसीको सडक सम्पर्क वैकल्पिक मार्गबाट पुनः सञ्चालनमा आएको छ।

फुर्केखोलाको पुल ‘वासआउट’ भएपछि मुख्य सडकमार्ग अवरुद्ध बनेको थियो। त्यसपछि मासटार–कुरिनटार हुँदै त्रिशूली नदीको दायाँ किनारबाट धादिङबेँसी जोड्ने वैकल्पिक मार्ग सञ्चालनमा ल्याइएको संघीय सडक सुपरिवेक्षण कार्यालय काठमाडौंले जनाएको छ।

कार्यालयका प्रमुख सञ्जय नेपालका अनुसार वैकल्पिक मार्ग खुलेसँगै अहिले साना सवारीसाधन धादिङबेँसीसम्म सञ्चालन हुन थालेका छन्। ठूला सवारीसाधनलाई समेत सञ्चालनयोग्य बनाउन बाढीले क्षति पुर्‍याएका सडकखण्डमा लेदो तथा हिलो हटाउने, ग्राभेल राख्ने र आवश्यक स्थानमा अस्थायी संरचना निर्माण गर्ने काम भइरहेको छ।

बाढीका कारण सडक वासआउट भएका तथा खोल्सी र पानी बग्ने स्थानमा ढुंगा मिलाएर सवारीसाधन पार गर्न सकिने बनाइएको छ। केही स्थानमा भने सडकको अवस्था अझै कठिन रहेकाले थप मर्मत आवश्यक देखिएको छ।

प्रमुख नेपालका अनुसार अप्ठ्यारा खण्डमा ग्राभेल राखेर साना तथा अन्य सवारीसाधनका लागि आवागमन सहज बनाउने काम भइरहेको छ। कल्भर्ट आवश्यक पर्ने स्थानमा तत्कालका लागि ढुंगा मिलाएर सवारीसाधन पार गर्ने व्यवस्था मिलाइएको छ।

‘अहिले दुईवटा मेसिन साइटमै छन्। अन्य आवश्यक उपकरण पनि विभिन्न स्थानमा परिचालन भइसकेका छन्,’ नेपालले भने, ‘साना सवारीसाधनका लागि बाटो खुलिसकेको छ। अन्य सवारीसाधनलाई समेत सहज हुने गरी कामलाई तीव्रता दिएका छौँ।’

वैकल्पिक सडक सञ्चालन तथा मर्मतका लागि सडक डिभिजन नुवाकोटका प्राविधिक टोलीसहित दुईवटा मेसिन परिचालन गरिएको छ। बाढीबाट क्षतिग्रस्त अन्य सडकखण्डमा पनि आवश्यकताअनुसार उपकरण तथा जनशक्ति परिचालन गरी सडक सुचारु गराउने काम भइरहेको कार्यालयले जनाएको छ।

बाढीले मुख्य पुल बगाएपछि धादिङ सदरमुकामसँगको सडक सम्पर्क नै विच्छेद भएको अवस्थामा वैकल्पिक मार्ग सञ्चालनमा आएपछि स्थानीयवासी तथा अत्यावश्यक सेवाका लागि आवतजावत केही सहज हुने भएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij