२०८३ भाद्र ११ बिहिबार

बाढीपहिरोले प्रभावित क्षेत्रमा सञ्चार सेवा पुनःस्थापनामा जुट्यो टेलिकम, ६० साइट अझै प्रभावित

ई आर्थिक    बिहिबार, भाद्र ११ २०८३
114
Shares
बाढीपहिरोले प्रभावित क्षेत्रमा सञ्चार सेवा पुनःस्थापनामा जुट्यो टेलिकम, ६० साइट अझै प्रभावित

काठमाडौं ।  बुधबार आएको बाढीपहिरोका कारण रसुवा, धादिङ, नुवाकोट र चितवन जिल्लामा सञ्चालित दूरसञ्चार सेवा प्रभावित भएको छ।

नेपाल टेलिकमले प्रभावित क्षेत्रमा सेवा पुनः सञ्चालन गर्न आवश्यक मर्मतसम्भार, उपकरण ढुवानी तथा प्राविधिक जनशक्ति परिचालनलाई तीव्रता दिएको जनाएको छ।

रसुवाका विभिन्न स्थानमा सेवा सञ्चालनका लागि न्यौपानेचौर र राम्चे रिपिटर साइटमा हेलिकोप्टरमार्फत जेनेरेटर, ब्याट्रीलगायत आवश्यक उपकरण पठाइएको टेलिकमले जनाएको छ। ती उपकरणको व्यवस्थापनपछि न्यौपानेचौर तथा राम्चे आसपासका केस्पाङ (काउले), ठुलेगाउँ, तादी, फिकुरी, कालिकास्थान, ग्राङ, डाँडागाउँ, मैलुङ, पाङसाङ डाँडा, लाङटाङ र क्याङ्जिनलगायत क्षेत्रमा सेवा सुचारु गरिएको छ।

धुन्चेमा सेवा सञ्चालनका लागि जेनेरेटर, इन्धन तथा कर्मचारी परिचालन गरिएको छ। त्यस्तै, नुवाकोटको मदनपुर, बट्टार, विदुर बसपार्क तथा धादिङको बैरेनी–ठमेल डाँडामा पनि जेनेरेटर र इन्धनसहित प्राविधिक कर्मचारी परिचालन गरी सेवा सुचारु गर्ने काम भइरहेको छ।

प्रभावित क्षेत्रका प्राथमिकताप्राप्त साइटहरूलाई अनवरत सञ्चालनमा ल्याउन आवश्यक जेनेरेटर, इन्धन तथा कर्मचारी परिचालन गरिएको नेपाल टेलिकमले जनाएको छ। सञ्चालनमा रहेका अन्य बीटीएसको कभरेज तथा क्षमता विकास र अप्टिमाइजेसनमार्फत सेवा थप प्रभावकारी बनाउने कामसमेत भइरहेको छ।

टेलिकमका अनुसार चितवनका ५ मध्ये ३, धादिङका ३६ मध्ये १३, नुवाकोटका ७९ मध्ये ३१ र रसुवाका ३२ मध्ये १३ साइट प्रभावित भएका छन्। प्रभावित देखिएका कुल १५२ साइटमध्ये ६० साइट अझै सञ्चालनमा आउन बाँकी छन्। बाँकी साइटहरू पनि यथाशीघ्र सञ्चालनमा ल्याउन आवश्यक प्राविधिक कार्य भइरहेको कम्पनीले जनाएको छ।

विपद्को अवस्थामा नागरिकको सञ्चार आवश्यकतालाई सहज बनाउन सेवा निरन्तरता, पूर्वसूचना तथा सचेतना र आवश्यक प्राविधिक कार्यलाई उच्च प्राथमिकतामा राखिएको नेपाल टेलिकमको भनाइ छ। प्रभावित क्षेत्रमा सेवा पुनः सञ्चालन हुँदा नागरिकलाई आफन्तजनसँग सञ्चार सम्पर्क कायम गर्न सहज हुने कम्पनीले विश्वास व्यक्त गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij