काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह बिहीबार बिहान बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि नुवाकोटको विदुर प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्रीसँगै पूर्वाधार विकासमन्त्री सुनील लम्साल पनि प्रभावित क्षेत्रको निरीक्षणमा सहभागी हुनुहुन्छ ।
प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार प्रधानमन्त्री शाह र मन्त्री लम्साल बिहान ९ः३० बजे सडकमार्ग हुँदै बाढीबाट प्रभावित मुख्य क्षेत्रमध्ये विदुरतर्फ प्रस्थान गर्नुभएको हो ।
उद्धार र राहतलाई प्रभावकारी बनाउन सक्रिय
बुधबार रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नदी तटीय क्षेत्रमा ठूलो क्षति पुर्याएपछि प्रधानमन्त्री शाह उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सक्रिय रहँदै आउनुभएको छ ।
बाढी आएको जानकारी पाएलगत्तै प्रधानमन्त्रीले उच्चस्तरीय बैठक आह्वान गरी उद्धार तथा राहत कार्यलाई तीव्र बनाउन सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिनुभएको थियो । उहाँले प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका लागि निरन्तर सहजीकरणसमेत गर्दै आउनुभएको छ ।
स्थानीय प्रशासन र जनप्रतिनिधिसँग छलफल
बाढीबाट विभिन्न क्षेत्रमा क्षति पुगे पनि समयको सीमाका कारण प्रधानमन्त्री शाहले बिहीबार मुख्य रूपमा नुवाकोटको विदुर तथा आसपासका प्रभावित बस्तीको स्थलगत निरीक्षण गर्नुहुने कार्यक्रम छ ।
भ्रमणका क्रममा प्रधानमन्त्री र पूर्वाधारमन्त्रीको टोलीले बाढीबाट भएको भौतिक क्षतिको प्रत्यक्ष अवलोकन गर्नेछ । साथै, स्थानीय प्रशासन, सुरक्षा निकाय तथा जनप्रतिनिधिसँग राहत, पुनःस्थापना र अवरुद्ध पूर्वाधार सञ्चालनबारे छलफल गर्ने कार्यक्रम रहेको छ ।
प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रमा द्रुत गतिमा राहत पुर्याउन तथा क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणलाई तीव्रता दिन सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने बताइएको छ ।