२०८३ भाद्र ११ बिहिबार

बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न प्रधानमन्त्री शाह नुवाकोट प्रस्थान, पूर्वाधार विकासमन्त्री सुनील लम्साल पनि सहभागी

ई आर्थिक    बिहिबार, भाद्र ११ २०८३
95
Shares
बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्न प्रधानमन्त्री शाह नुवाकोट प्रस्थान, पूर्वाधार विकासमन्त्री सुनील लम्साल पनि सहभागी

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह बिहीबार बिहान बाढी प्रभावित क्षेत्रको स्थलगत निरीक्षणका लागि नुवाकोटको विदुर प्रस्थान गर्नुभएको छ । प्रधानमन्त्रीसँगै पूर्वाधार विकासमन्त्री सुनील लम्साल पनि प्रभावित क्षेत्रको निरीक्षणमा सहभागी हुनुहुन्छ ।

प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालका अनुसार प्रधानमन्त्री शाह र मन्त्री लम्साल बिहान ९ः३० बजे सडकमार्ग हुँदै बाढीबाट प्रभावित मुख्य क्षेत्रमध्ये विदुरतर्फ प्रस्थान गर्नुभएको हो ।

उद्धार र राहतलाई प्रभावकारी बनाउन सक्रिय

बुधबार रसुवाको भोटेकोशी नदीमा आएको बाढीले नदी तटीय क्षेत्रमा ठूलो क्षति पुर्‍याएपछि प्रधानमन्त्री शाह उद्धार तथा राहत कार्यलाई प्रभावकारी बनाउन सक्रिय रहँदै आउनुभएको छ ।

बाढी आएको जानकारी पाएलगत्तै प्रधानमन्त्रीले उच्चस्तरीय बैठक आह्वान गरी उद्धार तथा राहत कार्यलाई तीव्र बनाउन सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिनुभएको थियो । उहाँले प्रभावित क्षेत्रमा खोज, उद्धार तथा राहतका लागि निरन्तर सहजीकरणसमेत गर्दै आउनुभएको छ ।

स्थानीय प्रशासन र जनप्रतिनिधिसँग छलफल

बाढीबाट विभिन्न क्षेत्रमा क्षति पुगे पनि समयको सीमाका कारण प्रधानमन्त्री शाहले बिहीबार मुख्य रूपमा नुवाकोटको विदुर तथा आसपासका प्रभावित बस्तीको स्थलगत निरीक्षण गर्नुहुने कार्यक्रम छ ।

भ्रमणका क्रममा प्रधानमन्त्री र पूर्वाधारमन्त्रीको टोलीले बाढीबाट भएको भौतिक क्षतिको प्रत्यक्ष अवलोकन गर्नेछ । साथै, स्थानीय प्रशासन, सुरक्षा निकाय तथा जनप्रतिनिधिसँग राहत, पुनःस्थापना र अवरुद्ध पूर्वाधार सञ्चालनबारे छलफल गर्ने कार्यक्रम रहेको छ ।

प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रमा द्रुत गतिमा राहत पुर्‍याउन तथा क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माणलाई तीव्रता दिन सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij