२०८३ भाद्र ११ बिहिबार

राहत, उद्धार र पुनःस्थापनासम्मका लागि सर्वदलीय समिति बनाउन रवि लामिछानेको प्रस्ताव

ई आर्थिक    बिहिबार, भाद्र ११ २०८३
95
Shares
राहत, उद्धार र पुनःस्थापनासम्मका लागि सर्वदलीय समिति बनाउन रवि लामिछानेको प्रस्ताव

काठमाडौं । बाढीपहिरोबाट प्रभावितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि सर्वदलीय समिति गठन गर्न सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले प्रस्ताव गर्नुभएको छ ।

सिंहदरबारमा जारी सर्वदलीय बैठकमा सभापति लामिछानेले राहत, उद्धारदेखि पुनःस्थापनासम्मका कामलाई प्रभावकारी बनाउन सर्वदलीय, संसदीय वा सर्वपक्षीय समिति गठन गर्न प्रस्ताव गर्नुभएको हो ।

उहाँले भन्नुभयो, ‘राहत, उद्धारदेखि पुनर्स्थापनासम्म सर्वदलीय समिति वा संसदीय वा सर्वपक्षीय समिति गठन गरौँ । जसले सरकारलाई निर्णय गर्न सहज होस् ।’

राहत कोषमा सबै दल एकजुट हुन आग्रह

सभापति लामिछानेले सरकारको राहत तथा उद्धार कोषलाई एकद्वार प्रणालीका रूपमा अघि बढाउँदै सबै राजनीतिक दल एक ठाउँमा उभिएर सहयोग गर्नुपर्नेमा जोड दिनुभएको छ ।

बैठकको सुरुवात गर्दै उहाँले दलगत पहिचानलाई निषेध गरेर विपद्पछिको राहत, उद्धार तथा पुनर्निर्माणमा सबै राजनीतिक दल एकजुट भएर लाग्नुपर्ने आह्वान गर्नुभएको छ ।

सामाजिक सञ्जालको सही सदुपयोग गर्दै विपद्का बेला आवश्यक सूचना प्रवाह तथा सहयोगका लागि पनि सबै राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने उहाँको भनाइ छ ।

सर्वदलीय बैठकमा शीर्ष नेताको सहभागिता

सिंहदरबारमा जारी बैठकमा रास्वपा सभापति रवि लामिछाने, नेपाली कांग्रेसका सभापति गगन थापा, नेकपा एमालेका महासचिव शंकर पोखरेल, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेन, राप्रपा संसदीय दलका नेता ज्ञानेन्द्र शाही तथा जनता समाजवादी पार्टी नेपालका नेता महन्थ ठाकुरलगायत सहभागी छन् ।

त्यस्तै, अर्थमन्त्री स्वर्णिम वाग्ले, रास्वपा संसदीय दलका नेता गणेश पराजुली, महामन्त्री विपिनकुमार आचार्य, मुख्य सचेतक कबीन्द्र बुर्लाकोटी र प्रवक्ता जगदिश खरेललगायत नेताहरू पनि बैठकमा उपस्थित छन् ।

विपद्पछि सबै एकसाथ अघि बढ्नुपर्ने प्रचण्डको भनाइ

बैठकमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विपद्पछिको अवस्थामा सबै राजनीतिक दल एकैसाथ अघि बढ्नुपर्ने बताउनुभएको छ ।

उहाँले खोज तथा उद्धारसँगै अन्य मानवीय सहयोगका काममा पार्टीका नेता तथा कार्यकर्ता परिचालन भइसकेको जानकारी दिँदै विपद्को सामना गर्न आफूहरू सहकार्यका लागि तयार रहेको बताउनुभएको छ ।

बाढीपहिरोबाट प्रभावित क्षेत्रमा राहत, उद्धार र पुनःस्थापनाका लागि सरकार तथा राजनीतिक दलबीच समन्वय र सहकार्यलाई प्रभावकारी बनाउने विषयमा बैठकमा छलफल भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij