२०८३ भाद्र ११ बिहिबार

सुस्तामा नारायणीको कटान तीव्र, तटबन्ध नहुँदा उच्च जोखिम

ई आर्थिक    मंगलबार, भाद्र ९ २०८३
190
Shares
सुस्तामा नारायणीको कटान तीव्र, तटबन्ध नहुँदा उच्च जोखिम

पश्चिम नवलपरासी । सुस्ता गाउँपालिका–५ स्थित नारायणी नदीपारिको ऐतिहासिक भूमि सुस्तामा नदीको कटान तीव्र बनेको छ। यस वर्ष नारायणी नदीले आफ्नो बहावको दिशा परिवर्तन गरेपछि स्थायी तटबन्ध निर्माण हुन नसकेको क्षेत्रतर्फ नदी सोझिँदा सुस्ता उच्च जोखिममा परेको हो।

स्थानीयका अनुसार भारतीय अवरोधका कारण ठेक्का सम्झौता भएर पनि निर्माण हुन नसकेको क्षेत्रबाटै नदीले नेपाली भूमि कटान गरिरहेको छ। कटान रोक्न अहिले बोरामा माटो भरेर अस्थायी तटबन्ध निर्माण गर्नुका साथै बाढीको वेग नियन्त्रण गर्न ‘प्रकुपाइन’ राख्ने काम भइरहेको छ।

साउन महिनामा बाढीको भेल बस्तीमा प्रवेश गरेपछि स्थानीय बासिन्दाले एक साताभन्दा बढी समय दिनरात नदी किनारमा श्रमदान गरेर कटान रोक्ने प्रयास गरेका थिए। निरन्तरको श्रमदानबाट स्थानीय थाकिसकेपछि अहिले सङ्घीय सरकार मातहतको सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, चितवनले दैनिक ज्यालादारीमा कामदार परिचालन गरी अस्थायी संरचना निर्माण गरिरहेको छ।

सुस्तामा नेपाल–भारतबीच लामो समयदेखि सीमा विवादसमेत रहँदै आएको छ। भारतले सीमा दाबी गर्दै आएको ‘भेल्लोरको रुख’समेत करिब दुई साताअघि नारायणी नदीको भेलले बगाएको छ। उक्त रुख नजिकसम्म १३२ मिटर लामो तटबन्ध निर्माण गर्ने योजना रहे पनि भारतीय पक्षको अवरोधका कारण निर्माण अघि बढ्न सकेको थिएन।

गत वर्ष नदीले कटान गरेको क्षेत्रमा सङ्घीय सरकारले ११ करोड रुपैयाँभन्दा बढी लागतमा करिब एक किलोमिटर लामो तटबन्ध निर्माण गरेको थियो। उक्त क्षेत्रमा अहिले नदी कटानको जोखिम देखिएको छैन। तर यस वर्ष नारायणी नदीको बहाव परिवर्तन भएर तटबन्ध नभएको क्षेत्रतर्फ सोझिएपछि सुस्ता फेरि जोखिममा परेको हो।

सुस्ता बचाउ अभियानका आदम हुसेन खाँका अनुसार नदीले सुस्तावासीले लगाएको उखुबालीसमेत कटान गर्न थालेपछि स्थानीय त्रसित छन्। उहाँले भन्नुभयो, “घाम लागे केही राहत हुन्छ, पानी पर्न थालेपछि मन आत्तिन्छ।”

सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना, चितवनका प्रमुख डा. नारायण सुवेदीका अनुसार सुस्तामा करिब एक करोड रुपैयाँको लागतमा अस्थायी तटबन्ध तथा प्रकुपाइन निर्माण गरी नदीको बहाव नियन्त्रण गर्ने काम भइरहेको छ।

“हामी दैनिक रूपमा यहाँ खटिएका छौँ। सुस्ता भूमि बचाउने प्रयासमा विभिन्न उपाय अपनाएर बाढीको वेग नियन्त्रण गर्ने र सुस्तातर्फ बाढी छिर्न नदिने गरी अस्थायी रूपमा भए पनि बलियो संरचना बनाउने काम भइरहेको छ,” उहाँले भन्नुभयो।

नदीसम्बन्धी विषयमा विद्यावारिधि गर्नुभएका सुवेदीले नारायणी नदीले समय–समयमा आफ्नो बहावको दिशा परिवर्तन गर्ने भएकाले सुस्तामा चुनौती सिर्जना भएको बताउनुभयो। उहाँका अनुसार बाँकी तटबन्ध निर्माण गर्न पाएको भए सुस्ताको जोखिम धेरै हदसम्म कम गर्न सकिन्थ्यो।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij