२०८३ साउन २९ शुक्रबार

दुई वर्षमा बन्नुपर्ने गुल्मी अस्पताल पाँच वर्षमा पनि अधुरो, ठेक्का तोड्न पूर्वाधारमन्त्रीको निर्देशन

ई आर्थिक    बुधबार, साउन २७ २०८३
798
Shares
दुई वर्षमा बन्नुपर्ने गुल्मी अस्पताल पाँच वर्षमा पनि अधुरो, ठेक्का तोड्न  पूर्वाधारमन्त्रीको निर्देशन

गुल्मी । जिल्ला भ्रमणमा रहेका भौतिक पूर्वाधार तथा यातायातमन्त्री सुनिल लम्सालले गुल्मी अस्पतालको निर्माण कार्यको अनुगमन गर्दै लामो समयसम्म पनि काम सम्पन्न नगरेको भन्दै ठेक्का तोड्न स्थलगत निर्देशन दिएका छन्।

दुई वर्षभित्र निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको अस्पताल पाँच वर्षसम्म पनि पूरा नभएपछि मन्त्री लम्सालले निर्माण व्यवसायीप्रति असन्तुष्टि जनाउँदै तत्काल ठेक्का तोड्न निर्देशन दिएका हुन्। अस्पताल निर्माणमा ढिलाइ हुँदा जिल्लावासी निराश हुनुका साथै स्वास्थ्य सेवा प्रवाहमा समेत समस्या परेको बताइएको छ।

गुल्मी अस्पताल निर्माणका लागि २०७८ असार १८ गते स्वच्छन्द जेभी बानियाँ कम्पनीसँग सम्झौता भएको थियो। सम्झौताअनुसार २०८० असार १७ गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने थियो। अस्पताल निर्माणको ठेक्का रकम २५ करोड ९५ लाख ६४ हजार रुपैयाँ रहेको छ।

निर्धारित समयमा निर्माण सम्पन्न नभएपछि पटक–पटक म्याद थप गरिएको छ। पछिल्लो पटक पनि भदौ ३१ गतेसम्मका लागि म्याद थप गरिएको छ। हाल अस्पतालको भौतिक प्रगति करिब ९२ प्रतिशत पुगेको बताइएको छ।

निर्माणमा ढिलाइ भएको भन्दै मन्त्रीले ठेक्का तोड्न निर्देशन दिए पनि कानुनी रूपमा भने ठेक्का तत्कालै तोड्न सहज नभएको जानकारहरूको भनाइ छ। विशेषगरी निर्माणको ९० प्रतिशतभन्दा बढी काम सम्पन्न भइसकेको अवस्थामा ठेक्का तोड्ने निर्णय कानुनी रूपमा जटिल हुन सक्ने उनीहरूको तर्क छ।

अब मुख्य प्रश्न मन्त्रीको स्थलगत निर्देशनअनुसार ठेक्का तोड्ने प्रक्रिया अघि बढ्छ कि बाँकी काम सम्पन्न गराएर अस्पताल सञ्चालनमा ल्याउने विकल्प रोजिन्छ भन्नेमा केन्द्रित भएको छ।

वर्षौंसम्म निर्माण अलपत्र पर्दा सेवाग्राहीले समस्या भोग्दै आएका गुल्मीवासी भने बाँकी निर्माण कार्य छिटो सम्पन्न भएर अस्पताल पूर्ण क्षमतामा सञ्चालनमा आउने अपेक्षामा छन्।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij