अर्घाखाँची । अर्घाखाँचीलाई तराईसँग जोड्ने महत्वपूर्ण सालझण्डी–सन्धिखर्क–ढोरपाटन सडकको बाँकी काम अघि बढ्ने भएको छ।
सरकारका पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले कालोपत्रे गर्न बाँकी करिब १ सय ४० किलोमिटर सडकखण्डको ठेक्का प्रक्रिया यसै वर्ष अघि बढाइने बताउनुभएको छ।
कुल १९७ किलोमिटर लामो सडकको हालसम्म करिब ३६ किलोमिटर कालोपत्रे भएको छ भने करिब ७० किलोमिटर सडकखण्ड अर्घाखाँचीमा पर्छ।
सडक पूर्ण रूपमा निर्माण भएपछि अर्घाखाँचीका ग्रामीण क्षेत्रलाई तराईसँग जोड्न, कृषि उत्पादनको बजारीकरण तथा पर्यटन प्रवर्द्धनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ।
वर्षौंदेखि निर्माणाधीन सडकको बाँकी काम अघि बढ्ने भएपछि अर्घाखाँचीवासीमा आयोजना पूरा हुने आशा बढेको छ। स्थानीयले भने ठेक्का प्रक्रिया छिटो अघि बढाउँदै गुणस्तरीय र समयमै निर्माण सम्पन्न गर्न सरकारसँग माग गरेका छन्।