नेपालगन्ज । तीन अर्ब ११ करोड रुपैयाँभन्दा बढीको आर्थिक हिनामिना प्रकरणमा कर्णाली विकास बैंकका तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) निरजविक्रम शाहसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार पक्राउ पर्नेमा तत्कालीन सीईओ निरजविक्रम शाह, उनकी पत्नी शुभेच्छा श्रेष्ठ तथा बैंकको नेपालगन्ज शाखाकी तत्कालीन शाखा प्रबन्धक दीपा थापा रहेका छन्। उनीहरूलाई नेपालगन्जबाट पक्राउ गरी अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रतीतसिंह राठौरका अनुसार आर्थिक हिनामिना प्रकरणमा फरार रहेका उनीहरूलाई अदालतबाट जारी पक्राउ पुर्जीका आधारमा नियन्त्रणमा लिइएको हो। यस प्रकरणमा संलग्न भई फरार रहेका अन्य व्यक्तिहरूको खोजी कार्य पनि जारी रहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार कर्णाली विकास बैंकमा तीन अर्ब २० करोड ११ लाख रुपैयाँभन्दा बढीको आर्थिक घोटाला भएको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले अनुसन्धान गरेको थियो। अनुसन्धानपछि जिल्ला सरकारी वकिल कार्यालय बाँकेले उच्च अदालत तुलसीपुरको नेपालगन्जस्थित वाणिज्य इजलासमा १०९ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।
यसअघि सोही प्रकरणमा पक्राउ परेका बैंकका तत्कालीन सीईओ राजेन्द्रवीर राय, पूर्वअध्यक्ष पशुपतिदयाल मिश्र तथा वित्त शाखा प्रमुख वेदप्रकाशसिंह ठकुरीलाई उच्च अदालत तुलसीपुर, नेपालगन्ज इजलासले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो। उनीहरू हाल पनि नेपालगन्ज कारागारमा रहेका छन्।