२०८३ साउन २२ शुक्रबार

उदयपुरमा एलपी ग्यासमा ४० रुपैयाँ बढी असुलिएको गुनासो, प्रशासनद्वारा व्यापारिक संघसँग स्पष्टीकरण माग

ई आर्थिक    बिहिबार, साउन २१ २०८३
228
Shares
उदयपुरमा एलपी ग्यासमा ४० रुपैयाँ बढी असुलिएको गुनासो, प्रशासनद्वारा व्यापारिक संघसँग स्पष्टीकरण माग

उदयपुर। सरकारले तोकेको मूल्यभन्दा बढी रकम लिएर एलपी ग्यास बिक्री भइरहेको जनगुनासो आएपछि जिल्ला प्रशासन कार्यालय उदयपुरले स्थानीय व्यापारिक संघ–संगठनको ध्यानाकर्षण गराएको छ।

प्रति सिलिन्डर १४.२ किलोग्राम एलपी ग्यासको मूल्य नेपाल आयल निगमले २ हजार ६० रुपैयाँ तोकेको भए पनि उदयपुरमा २ हजार १ सय रुपैयाँ असुल गरिएको गुनासो प्राप्त भएपछि प्रशासनले आवश्यक सहजीकरणका लागि पत्राचार गरेको हो।

जिल्ला प्रशासन कार्यालयले त्रियुगा उद्योग वाणिज्य संघ गाईघाट र जिल्ला उद्योग वाणिज्य संघ गाईघाटलाई पत्र पठाउँदै तोकिएको मूल्यभन्दा बढी रकम लिइएको विषयमा कारण स्पष्ट पार्न तथा आवश्यक सहजीकरण गर्न आग्रह गरेको छ।

प्रशासनले पठाएको पत्रमा नेपाल आयल निगमले निर्धारण गरेको मूल्यभन्दा बढी रकम लिएर ग्यास बिक्री–वितरण भइरहेको भन्ने उजुरी प्राप्त भएकाले सो विषयमा आवश्यक पहल गर्न अनुरोध गरिएको उल्लेख छ।

व्यापारिक संघको दाबी–ढुवानी खर्चका कारण मूल्य बढेको

यता, त्रियुगा उद्योग वाणिज्य संघले भने अतिरिक्त रकम मूल्यवृद्धिका लागि नभई ढुवानी खर्चका कारण जोडिएको जनाएको छ।

संघका वरिष्ठ उपाध्यक्ष दिनेश श्रेष्ठका अनुसार नेपाल आयल निगमले निर्धारण गरेको मूल्य कम्पनी रहेको स्थानबाट ५० किलोमिटर दूरीसम्मका लागि मात्रै लागू हुन्छ। त्यसभन्दा टाढाको बजारसम्म ग्यास पुर्‍याउँदा लाग्ने ढुवानी खर्च जोड्दा प्रति सिलिन्डर करिब ४० रुपैयाँ थप पर्ने भएकाले २ हजार १ सय रुपैयाँ लिनुपर्ने अवस्था बनेको उनले बताए।

सबै कम्पनीको ग्यास एउटै मूल्यमा बिक्री

उदयपुरको सदरमुकाम गाईघाटमा नारायणी, कोशी, कामाख्य, सुपर, प्रिमा, नोबेल र रिजाल कम्पनीका एलपी ग्यास बिक्री–वितरण हुँदै आएका छन्।

जिल्ला उद्योग वाणिज्य संघ गाईघाटका महासचिव सुनिल साहका अनुसार उपभोक्ताबीच मूल्यमा भिन्नता नआओस् भन्ने उद्देश्यले सबै कम्पनीको ग्यास एउटै दरमा बिक्री गर्ने व्यवस्था मिलाइएको छ।

प्रशासनले प्राप्त गुनासोको आधारमा आवश्यक अनुगमन र समन्वय प्रक्रिया अघि बढाएको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij