२०८३ साउन ८ शुक्रबार

भारु सटहीको नयाँ सूचना, नेपालमा अब २०० र ५०० का नोट कति बोक्न पाइन्छ

ई आर्थिक    शुक्रबार, साउन ८ २०८३
133
Shares
भारु सटहीको नयाँ सूचना, नेपालमा अब २०० र ५०० का नोट कति बोक्न पाइन्छ

काठमाडौं । मुस्ताङका व्यवसायी राजुप्रसाद लालचनले गत महिना भारतीय रुपैयाँका कारण निकै झन्झट बेहोर्नुपर्‍यो। निकै ठूलो सङ्ख्यामा भारतीय पर्यटक ओइरिएपछि जिल्लाभरिका धेरै व्यवसायीहरूले उनीहरूसँग भारुको भुक्तानी लिएका रहेछन्।

“धेरैजसोसँग भारुका २०० तथा ५००का नोट पनि जम्मा भए तर ब्याङ्कहरूले सटही नै गरिदिएनन्,” मुस्ताङ जिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष समेत रहेका लालचनले भने।

“उताबाट आएका पर्यटकहरूले ५०० रुपैयाँका नोट बोकेर आउने गर्थे। हामी व्यवसायीहरू त्यो लिन बाध्य भइयो। तर फेरि ब्याङ्कहरूले नसाटिदिँदा ठूलै समस्या पर्‍यो।”

केही समयअगाडि पर्यटनमन्त्री खडकराज पौडेल जिल्ला पुगेको मौकामा उक्त समस्या सम्बोधन गरिदिन आग्रह गर्नुपरेको उनले सुनाए।

“व्यवसायीहरूले दु:ख गरेर कमाएको पैसा हो। पोखरा-काठमाण्डूतिर जानुपर्दा कसै गरी चेकिङ भयो भने त अवैध ठहर्ला भनेर हामीले अनुरोध गर्‍यौँ।”

नेपाल राष्ट्र ब्याङ्कको निर्णय

लालचनजस्तै मर्का परेका थुप्रै मानिसलाई सहज हुने गरी बिहीवार केन्द्रीय ब्याङ्कले एउटा सूचना जारी गरेको छ।

“सन् २०१६ नोभेम्बर ९ देखि निष्कासन भई चलनचल्तीमा रहेका भारु २०० र ५०० दरका नोट नेपाली वा भारतीय नागरिकले प्रतिव्यक्ति भारतीय रुपैयाँ २५,००० को सीमासम्म प्रचलित व्यवस्थाबमोजिम ल्याउन, लैजान तथा सटही गर्न सकिने व्यवस्था गरिएको छ,” राष्ट्रब्याङ्कको सूचनामा उल्लेख छ।

वास्तवमा २०८२ सालको पुस २८ गते नै नेपाल राजपत्रमा सूचना प्रकाशन गरी नेपाली तथा भारतीय नागरिकले भारतबाट नेपाल आउँदा वा नेपालबाट भारत जाँदा भारतीय रुपैयाँ २०० र ५०० दरका नोट अधिकतम भारु २५,००० सम्म साथमा ल्याउन वा लैजान पाउने राष्ट्र ब्याङ्कले जनाएको थियो।

“अहिले राजपत्रमा प्रकाशित त्यही निर्णय कार्यान्वयनका केन्द्रीय ब्याङ्कले आवश्यक प्रक्रिया स्पष्ट गरेको हो,” राष्ट्र ब्याङ्कका प्रवक्ता गुरुप्रसाद पौडेलले।

“निर्णय भएपछि पनि प्रक्रिया स्पष्ट नहुँदा केही अन्योल थियो। ठूलो सङ्ख्यामा भारतीय नागरिकहरूले २५,००० रुपैयाँको सीमामा ती दरका नोट लिएर आए अनि यहाँ भुक्तानी पनि गरे। त्यसको सटहीमा समस्या देखा पर्‍यो।”

“त्यसलाई स्पष्ट पार्दै अबआइन्दा ती दरका भारु उक्त सीमासम्म ल्याउन, लैजान तथा तोकिएका इजाजतप्राप्त संस्थाबाट सटही गर्न पाइने भनेको हो।”

यसबाट भारुको वैध र औपचारिक सटही प्रणाली सुदृढ हुने, नेपाल भ्रमणमा आउने भारतीय पर्यटकलाई सहजता प्रदान गर्ने, अनौपचारिक सटहीलाई निरुत्साहित गर्ने तथा पर्यटन, व्यापार र सीमापार आर्थिक गतिविधिलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको उनले बताए।

“तर यसको मतलब ती भारु नेपालमा व्यापक चलनचल्तीमा ल्याउन पाइने भनेको चाहिँ होइन,” प्रवक्ता पौडेलले भने।

अहिले विभिन्न ब्याङ्क तथा वित्तीय संस्था, ठूला होटल, ठूला रेस्टुराँ, मनिचेन्जरसहित हजारौँ त्यस्ता सटही इजाजतप्राप्त संस्था रहेका छन्।

केन्द्रीय ब्याङ्कको पछिल्लो सूचनाले अब आफूहरूलाई पनि सहज हुने व्यवसायी लालचनले आश गरेका छन्।

विगतको तीतो अनुभव

ठूला दरका भारतीय नोटको नेपालमा हुने प्रयोगको सिलसिलामा बेलाबखत कडा नियमहरू लगाइएको विगत छ।

सन् २००० को दशकमा भारतकै अनुरोधमा नेपालमा ५०० र १००० दरका भारु नोट प्रतिबन्धित गराइयो।

नेपाल भएर भारतमा नक्कली भारु भित्रिन थालेको भन्दै भारतीय अधिकारीहरूले चिन्ता जनाउन थालेपश्चात् वर्षौँसम्म उक्त प्रतिबन्ध कायम रह्यो।

सन् २०१४मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको नेपाल भ्रमणताका उक्त प्रतिबन्ध हटाइयो। नेपाली र भारतीय नागरिकहरूले २५,००० को सीमासम्म ती नोट ल्याउन, लैजान पाउने भए।

तर उक्त नियम लामो समय टिकेन।

सन् २०१६ को नोभेम्बर ८ मा भारतीय प्रधानमन्त्री मोदीले ५०० र १००० दरका भारु एक्कासि प्रतिबन्धित गरिदिए।

त्यस्तो नोटबन्दीले नेपालमा सर्वसाधारण नागरिक, व्यवसायी तथा ब्याङ्कहरू समेत प्रभावित भए। करोडौँ रुपैयाँ बराबरका त्यस्ता पुराना नोट अझै नसाटिएर ब्याङ्कमै थन्किएका छन्।

नोटबन्दीलगत्तै राष्ट्रब्याङ्कले पुन: ती दरका भारु नेपालमा प्रतिबन्धित गर्‍यो। साथै नयाँ छापिएका ५०० र २००० दरका भारु पनि नेपालमा सटही नहुने भयो।

अमेरिकी डलरमा कस्तो सुविधा

बिहीवारकै सूचनामा राष्ट्र ब्याङ्कले नेपाली वा विदेशी नागरिकले नगद विदेशी मुद्रा अमेरिकी डलर ५,००० सम्म तथा अन्य विदेशी मुद्रा पनि अमेरिकी डलर ५,००० बराबर भन्सार घोषणाबिना नेपाल भित्र्याउन पाउने भनेको छ।

नेपालबाट बाहिर जाँदा पासपोर्टबाट पाइने सटही सुविधाअन्तर्गत ३,००० डलर लग्न पाइने नियम यथावत् छ भने थप १,५०० डलर भन्सार घोषणा नगरीकन नै लग्न पाइने नियम छ।

“पासपोर्टले दिने सटही सुविधा ३,००० डलरको हो। तर कतै आफन्तबाट पाएर वा टिप्स पाएर वा पहिले विदेश घुमेका व्यक्तिहरूले १,५०० डलरसम्म स्रोत नखुलाए पनि राख्न सक्नुहुन्छ,” प्रवक्ता पौडेलले जानकारी दिए।

अहिले केन्द्रीय ब्याङ्कमा विदेशी मुद्राको सञ्चिति निकै ठूलो परिमाणमा जम्मा भएको छ। पछिल्लो आँकडामा २४.६८ अर्ब अमेरिकी डलर बराबर विदेशी मुद्रा सञ्चिति रहेको देखिन्छ।

पोहोर असार मसान्तमा कुल विदेशी मुद्राको भण्डार २६ खर्ब ७७ अर्ब रुपैयाँ बराबरको थियो।

अघिल्लो साउनदेखि २०८३ सालको जेठसम्मको पछिल्लो आँकडामा उक्त रकम करिब ४० प्रतिशतले बढेर ३७ खर्ब ५५ रुपैयाँ बराबर पुगेको हो। उक्त अवधिमा नेपाल भित्रिएको रेमिटन्स रकम २१ खर्ब रुपैयाँभन्दा धेरै थियो।

विदेशमा काम गर्ने नेपालीहरूले पठाउने रेमिटन्स रकममा वृद्धि भएको मुख्य कारणले नै विदेशी मुद्राको सञ्चिति बढेको देखिने समाचार बीबीसीले लेखेको छ ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij