काठमाडौं। जिल्ला भूमि समस्या समाधान समिति, चितवनले इच्छाकामना गाउँपालिकाका ३४ भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासी परिवारलाई जग्गाधनी दर्ता प्रमाण–पुर्जा (लालपुर्जा) वितरण गरेको छ।
लामो समयदेखि जग्गाको स्वामित्वबाट वञ्चित रहेका स्थानीयले लालपुर्जा पाएसँगै कानुनी रूपमा जग्गाधनीको हैसियत प्राप्त गरेका छन्।
सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई प्राथमिकतामा राख्दै देशभर जग्गाधनी प्रमाण–पुर्जा वितरणको कामलाई तीव्रता दिएको जनाएको छ।
यसै क्रममा झापाको कनकाई नगरपालिकामा पनि भूमिहीन दलित तथा अव्यवस्थित बसोबासी पाँच परिवारलाई जग्गाधनी दर्ता प्रमाण–पुर्जा वितरण गरिएको छ।
सरकारले देशका विभिन्न स्थानमा रहेका भूमिहीन तथा अव्यवस्थित बसोबासीलाई कानुनी रूपमा जग्गाको स्वामित्व प्रदान गर्ने अभियानलाई निरन्तर अघि बढाइरहेको छ।