२०८३ भाद्र २९ सोमबार

गृहमन्त्री सुधन गुरुङले भने- अनुसन्धानमा पूर्ण सहयोग गर्ने र जुनसुकै निर्णय स्वीकार गर्न प्रतिबद्ध छु

ई आर्थिक    सोमबार, बैशाख ७ २०८३
912
Shares
गृहमन्त्री सुधन गुरुङले भने- अनुसन्धानमा पूर्ण सहयोग गर्ने र जुनसुकै निर्णय स्वीकार गर्न प्रतिबद्ध छु

काठमाडौं ।  गृहमन्त्री सुधन गुरुङले आफ्नो नाम जोडेर पछिल्ला दिनमा उठाइएका विभिन्न आरोप र चर्चाबारे सामाजिक सञ्जालमार्फत विस्तृत स्पष्टीकरण दिएका छन्।

उनले सोमबार फेसबुकमार्फत सार्वजनिक गरेको अभिव्यक्तिमा आफूविरुद्ध आएका आरोपहरूलाई “हल्ला र अनुमानमा आधारित” भन्दै खण्डन गरेका छन्।

गुरुङका अनुसार “२५ लाख रुपैयाँको सेयर लुकाइएको” भन्ने आरोप तथ्यसंगत छैन। उनले आफ्नो सम्पत्ति विवरणमै धितोपत्र बजारमा गरिएको २ करोड रुपैयाँभन्दा बढीको लगानी स्पष्ट रूपमा उल्लेख गरिएको दाबी गर्दै उक्त विवरण मन्त्रिपरिषद्को वेबसाइटमार्फत सार्वजनिक रूपमा हेर्न सकिने बताएका छन्। स्टार माइक्रो इन्स्योरेन्स र लिबर्टी माइक्रो इन्स्योरेन्समा गरिएको लगानी पनि सोही विवरणमा समेटिएको उनले उल्लेख गरेका छन्।

मन्त्री बन्नुअघि सेयर खरिद गरिएको भन्ने आरोपबारे प्रतिक्रिया दिँदै उनले सेयरमा लगानी गर्नु कानुनी रूपमा वैध अभ्यास भएको र सबै कारोबार बैंकिङ प्रणालीमार्फत पारदर्शी रूपमा भएको बताएका छन्। उनका अनुसार लगानीका लागि लिइएको रकम ऋणमार्फत जुटाइएको हो, जसको लिखित तमसुक २०८० साल भदौ २९ गते भएको र सबै कारोबार बैंकिङ रेकर्डमा रहेको छ।

विवादित व्यक्तिसँग साझेदारी गरिएको भन्ने आरोपलाई उनले अस्वीकार गर्दै एउटै कम्पनीमा सेयर किन्नु सबै लगानीकर्तासँग साझेदारी गर्नु बराबर नहुने स्पष्ट पारेका छन्। उनका अनुसार सम्बन्धित कम्पनीमा बैंक तथा मिडिया हाउससहित थुप्रै संस्थागत र व्यक्तिगत लगानीकर्ताहरू रहेका छन्।

त्यस्तै, “conflict of interest)” सम्बन्धी आरोपबारे उनले छानबिन गर्ने अधिकार गृह मन्त्रालय नभई अर्थ मन्त्रालय अन्तर्गतको सम्पत्ति शुद्धीकरण विभागसँग रहेको उल्लेख गर्दै सोही निकायमार्फत प्रक्रिया अघि बढिरहेको बताएका छन्।

लगानीको पृष्ठभूमि नजाँची गरिएको भन्ने टिप्पणीबारे प्रतिक्रिया दिँदै उनले लगानी सधैं जोखिमसहितको व्यापारिक निर्णय हुने र पछिल्ला घटनालाई आधार बनाएर अघिल्ला निर्णयलाई गलत ठहर गर्नु न्यायोचित नहुने बताएका छन्।

आफूले तत्काल प्रतिक्रिया नदिएको विषयमा उठेको प्रश्नलाई सम्बोधन गर्दै उनले कानुनी रूपमा संवेदनशील विषयमा हतारमा प्रतिक्रिया दिनु उपयुक्त नहुने तर्क गरेका छन्।

अन्त्यमा उनले आरोप र सत्य एउटै नभएको उल्लेख गर्दै निर्णय प्रमाणका आधारमा हुनुपर्ने बताएका छन्। उनले पार्टी वा सम्बन्धित निकायले गर्ने कुनै पनि निर्णय स्वीकार गर्न तयार रहेको र अनुसन्धानमा पूर्ण सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका छन्।

गुरुङले सामाजिक सञ्जालमा फैलिने हल्लाभन्दा प्रमाणमा आधारित निष्कर्षमा पुग्नुपर्ने आवश्यकता औंल्याएका छन्।

व्यवसायी दिपक भट्टको व्यावसायिक साझेदारीमा जोडियो गृहमन्त्री गुरुङको नाम

 

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij