काठमाडौं । चालु आर्थिक आर्थिक वर्षको भदौसम्ममा नेपाल राष्ट्र बैंकमा रहेको सरकारी खातामा २ खर्ब ५५ अर्ब ६१ करोड मौज्दात रहेको छ, जुन असार मसान्तमा रहेको रु. १३० अर्ब ७३ करोडको तुलनामा झन्डै दोब्बर हो।
चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा नेपाल सरकारको कुल खर्च रु. १८० अर्ब १७ करोड पुगेको छ, जुन सोही अवधिमा संकलित कुल राजस्वभन्दा उच्च हो। अर्थ मन्त्रालय अन्तर्गत महालेखा नियन्त्रक कार्यालयका अनुसार, उक्त खर्चमध्ये चालु खर्च रु. ११४ अर्ब १९ करोड, पुँजीगत खर्च रु. ६ अर्ब ३५ करोड र वित्तीय व्यवस्था अन्तर्गतको खर्च रु. ५९ अर्ब ६३ करोड रहेको छ।
यस अवधिमा सरकारले कुल रु. १५७ अर्ब ५३ करोड राजस्व संकलन गरेको छ। यसमध्ये कर राजस्व रु. १५० अर्ब ४० करोड रहेको छ भने गैरकर राजस्व रु. ७ अर्ब १३ करोड मात्र संकलन भएको छ।
यद्यपि खर्च राजस्वभन्दा माथि रहे पनि सरकारको नगद मौज्दातमा उल्लेखनीय वृद्धि देखिएको छ।
विगतका वर्षहरूको तुलनामा प्रारम्भिक दुई महिनामा पुँजीगत खर्चको सुस्त प्रगति चिन्ताको विषय बनेको छ भने नगद मौज्दातको उच्च स्तरले खर्च कार्यान्वयन क्षमतामा कमजोरी देखिएको संकेत गर्दछ। वित्तीय व्यवस्थापन र विकास खर्चमा गति दिनु सरकारको चुनौती बनेको छ।