ई-आर्थिक, काठमाडौं जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिप्रति बीमा दाबी रकम रु. २३ अर्ब २२ करोड ८७ लाख नाघेको छ। बीमा समितिले बुधबारसम्मको संकलित तथ्यांक सार्वजनिक गर्दै यो जानकारी दिएको हो।
बीमा समितिका अनुसार १४ वटा निर्जीवन बीमा कम्पनी र ४ वटा लघु निर्जीवन बीमा कम्पनीहरूमा जम्मा ३ हजार ९९ वटा बीमा दाबी दर्ता भएका छन्। ती दाबीहरूको जम्मा रकम करिब २३ अर्ब २२ करोड पुगेको हो।
दाबी भुक्तानीसम्बन्धी प्रगति विवरण अनुसार, बुधबारसम्ममा करिब रु. १ अर्ब २९ करोड १९ लाख रुपैयाँ अग्रिम भुक्तानीसहित भुक्तानी गरिसकिएको छ।
बीमा कम्पनीहरूले क्षतिको मूल्याङ्कनका लागि हालसम्म २ हजार ७०६ जना सर्भेयर खटाएका छन्। तीमध्ये ३७४ वटा सर्भे प्रतिवेदन बीमा कम्पनीहरूलाई बुझाइएको समितिले जनाएको छ।
बीमा समितिले आन्दोलनको कारणले भएका क्षति तथा बीमा दाबीहरूलाई व्यवस्थित रूपमा मूल्याङ्कन तथा भुक्तानी गर्न बीमा कम्पनीहरूलाई निर्देशन दिइसकेको छ। समितिले सर्भे प्रक्रिया छिटो टुंग्याई क्षतिपूर्तिको कामलाई तीव्रता दिन पनि आग्रह गरेको छ।