ई-आर्थिक, काठमाडौं । जेन जी आन्दोलनमा नेकपा माओवादी केन्द्रका शीर्ष नेताहरू निशानामा परेको पार्टी कार्यालले जनाएको छ । पार्टीले एक विज्ञप्ति जारी गर्दै अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित १९ जना नेताहरूको निजी घरमा लुटपाट, तोडफोड र आगजनी भएको जनाएको छ।
पार्टीका अनुसार हालसम्म प्राप्त विवरणअनुसार प्रचण्डको खुमलटारस्थित निवासदेखि चितवनको घरसम्म पूर्ण रूपमा ध्वस्त बनाइएको छ। यस्तै वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, उपमहासचिव, सचिव र केन्द्रीय सदस्यहरूसमेत आन्दोलनकारीहरूको निशानामा परेका छन्।
माओवादी केन्द्रले कांग्रेस–एमाले गठबन्धन सरकारको “कुशासन र अकर्मण्यता” विरुद्ध सबैभन्दा बढी आवाज उठाएकै कारण नेताहरूको सम्पत्ति ज्यानमारा हमला र घुसपैठियाहरूको योजनाबद्ध आक्रमणको शिकार बनेको ठहर गरेको छ।
क्षतिको विस्तृत विवरण
१ अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ – खुमलटार र चितवनस्थित दुबै निवासमा लुटपाट, तोडफोड, आगजनी; घर पूर्ण रूपमा ध्वस्त।
२. वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ – हात्तीवनस्थित घरमा लुटपाट, पूर्ण रूपमा ध्वस्त।
३. उपाध्यक्ष अग्निप्रसाद सापकोटा– घरमा तोडफोड र लुटपाट; पूर्ण रूपमा ध्वस्त।
४. उपाध्यक्ष नन्दकिशोर पुन – निवासमा आगजनी, तोडफोड र लुटपाट; गम्भीर क्षति।
५. उपाध्यक्ष कृष्णबहादुर महरा – दाङस्थित घर पूर्ण रूपमा भग्नावशेषमा परिणत।
६. उपाध्यक्ष पम्फा भुसाल – घरमा तोडफोड र लुटपाट।
७. उपमहासचिव वर्षमान पुन – घरमा तोडफोड र लुटपाट।
८. उपमहासचिव गिरिराजमणि पोखरेल – निवासमा तोडफोड र लुटपाट।
९. सचिव चक्रपाणि खनाल – घरमा आगजनी, तोडफोड र लुटपाट।
१०. केन्द्रीय सदस्य गंगा दाहाल – आगजनी, तोडफोड र लुटपाट।
११. केन्द्रीय सदस्य जीवन आचार्य – विराटनगरस्थित घरमा आगजनी, तोडफोड र लुटपाट।
१२. केन्द्रीय सदस्य रेनु दाहाल– घरमा आगजनी, तोडफोड र लुटपाट।
१३. केन्द्रीय सदस्य माधव सापकोटा – आगजनी।
१४. केन्द्रीय सदस्य राजन दाहाल – तोडफोड र लुटपाट।
१५. केन्द्रीय सदस्य विशाल खड्का – घर र गाडी पूरै ध्वस्त।
१६. केन्द्रीय सदस्य युवराज चौलागाईं – घरमा आगजनी।
१७. केन्द्रीय सदस्य उमेश यादव– तोडफोड र लुटपाट।
१८. केन्द्रीय सदस्य कमल बुढाथोकी – लुटपाट।
१९. केन्द्रीय सदस्य रामनारायण बिडारी – घरमा आगजनी, पूर्ण रूपमा ध्वस्त।
२० प्रदेश नं. १ को पार्टी कार्यालय – तोडफोड।
माओवादी केन्द्रले यस्ता गतिविधिलाई लोकतान्त्रिक अभ्यास र अभिव्यक्ति स्वतन्त्रतामाथिको कायराना हमला भनेको छ। पार्टीले यस घटनामा संलग्न ‘घुसपैठिया’ तत्वहरू पहिचान गरी कारबाही गर्न माग गरेको छ।
“शान्तिपूर्ण आन्दोलनको आडमा गरिएको यस्तो लक्ष्यित आक्रमण योजनाबद्ध, उद्देश्यप्रेरित र लोकतान्त्रिक शक्तिमाथिको हमला हो,” माओवादी केन्द्रको ठहर छ।
पार्टीले सरकार र सुरक्षा निकायको भूमिकाप्रति पनि असन्तोष जनाउँदै दोषीहरूलाई तत्काल पक्राउ गरी कानुनी कारबाही गर्न र क्षतिपूर्तिको व्यवस्था गर्न माग गरेको छ ।