काठमाडौँ । साझा यातायातले काठमाडौँ उपत्यकामा रात्रिकालीन बससेवा विस्तार गरेको छ। संविधान दिवसको अवसर पारेर काठमाडौँ र ललितपुर महानगरपालिकासहित उपत्यकाका विभिन्न स्थानीय तहसँगको सहकार्यमा शनिबारदेखि थप रुटमा रात्रिकालीन बस सञ्चालनमा ल्याइएको हो।
साझा यातायातका अनुसार नागढुङ्गा–एयरपोर्ट रुटमा चार, गोदावरी–बुढानीलकण्ठमा छ, जगाती–रत्नपार्क–ठमेलमा छ, कीर्तिपुर–रत्नपार्कमा चार र चक्रपथमा आठ वटा विद्युतीय बस थप गरिएको छ।
नयाँ रुटमा थपिएका बसहरू राति १२ बजेसम्म सञ्चालन हुने साझा यातायातका प्रमुख कार्यकारी अधिकृत भूपेन्द्र अर्यालले जानकारी दिनुभयो।
रात्रिकालीन बससेवा विस्तार कार्यक्रममा काठमाडौँ महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डङ्गोलले काठमाडौँ उपत्यका दिउँसो मात्र नभई रातको समयमा पनि चलायमान रहेको बताउनुभयो। उहाँले स्थानीय सरकारको जिम्मेवारीअनुसार नागरिकलाई सुरक्षित र सहज यातायात सेवा उपलब्ध गराउन रात्रिकालीन बससेवा विस्तार गरिएको बताउनुभयो।
“काठमाडौँ उपत्यका दिउँसो मात्र होइन, रातमा पनि चलायमान छ। स्थानीय सरकारको जिम्मेवारी वहन गर्न पनि रात्रिकालीन बससेवा विस्तार गरेका हौँ,” उहाँले भन्नुभयो।
डङ्गोलले आगामी दिनमा रात्रिकालीन बससेवालाई उपत्यकाका अन्य क्षेत्रमा समेत विस्तार गर्ने योजना रहेको बताउनुभयो।
कार्यक्रममा ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले काठमाडौँ उपत्यकामा मेट्रो सञ्चालनका लागि आफूले पहल गरिरहेको बताउनुभयो।
यसैबीच, साझा यातायातले आफ्ना सबै बसमा डिजिटल टिकट प्रणालीसमेत लागू गरेको छ। अब यात्रुले क्युआर कोड तथा फोनपेबाट बस भाडा भुक्तानी गर्न सक्नेछन्।
रात्रिकालीन बससेवा विस्तारसँगै उपत्यकामा रातको समयमा आवतजावत गर्ने यात्रुलाई सहज हुने अपेक्षा गरिएको छ।