ई-आर्थिक, काठमाडौं । नेपाली बजारमा सुनको मूल्य निरन्तर उकालो लाग्दै जाँदा यो साता मंगलबार पुनः ६ सय रुपैयाँले वृद्धि भई हालसम्मकै उच्च बिन्दुमा पुगेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाला सुनको मूल्य प्रतितोला २ लाख ५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ।
गएको शुक्रबारयता सुनको मूल्य लगातार नयाँ रेकर्ड कायम गर्दै आएको छ। आइतबार र सोमबार पनि सुन उच्च मूल्यमा कारोबार भएको थियो। सोमबार सुन प्रतितोला २ लाख ५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढ्नु र डलरको भाउमा आएको चापले नेपाली बजारमा पनि सुन महँगिएको हो। चाडपर्वको समय नजिकिँदै गर्दा सुनको मागमा थप चाप पर्न सक्ने अनुमान गरिएको छ।
सुनसँगै चाँदीको मूल्य पनि निरन्तर बढ्दो क्रममा छ। मंगलबार चाँदी प्रतितोला १५ रुपैयाँले वृद्धि भई २ हजार ४८५ रुपैयाँमा पुगेको छ। सोमबार यसको मूल्य २ हजार ४७० रुपैयाँ थियो।
सुनचाँदीको मूल्यमा आएको यो वृद्धिले बजारमा व्यापारी र उपभोक्ता दुवैलाई असर पार्न थालेको छ। विशेषगरी चाडपर्व र विवाहको मौसम नजिकिँदै गर्दा गहना खरिदमा रुचि राख्ने उपभोक्ताहरूलाई मूल्यवृद्धिले थप आर्थिक भार पर्ने देखिएको छ।