बिर्तामोड । झापाको बिर्तामोड नगरपालिका–२ स्थित ड्रिमल्यान्ड कम्पाउन्डभित्र रहेको स्विमिङ पुलमा पौडी खेल्ने क्रममा एक जनाको ज्यान गएको छ ।
शुक्रबार दिउँसो करिब ३ बजेको समयमा बिर्तामोड–३ निवासी ३३ वर्षीय प्रकाश प्रसाई र बिर्तामोड–१० निवासी ३३ वर्षीय केशव शिवाकोटी पौडी खेल्न उक्त पुलमा गएका थिए। पौडी खेल्ने क्रममा प्रकाश प्रसाई गम्भीर रूपमा डुबेका थिए र उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
मृतक प्रसाई ओमकार रेडिमिक्स कङ्क्रिट प्रालिका सञ्चालक समेत हुन् ।
स्विमिङ पुल सञ्चालकले शुक्रबार राति करिब ८ बजे इलाका प्रहरी कार्यालय बिर्तामोडमा घटना बारे जानकारी गराएका थिए। जानकारी पाउनासाथ प्रहरी टोली घटनास्थल पुगेर अनुसन्धान सुरु गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ताले जानकारी दिए ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।