ई-आर्थिक, काठमाडौं । नेपालले राँगाको मासु, दुग्धजन्य पदार्थ, तरकारी, फलफूल तथा जडीबुटीको चीन निर्यातमा भन्सार प्रशासनमा लचकता र सहजीकरणको आग्रह गरेको छ।
बिहीबार काठमाडौंमा आयोजित द्विपक्षीय बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीले चीनको भन्सार प्रशासन र कृषि मन्त्रालयका उच्च अधिकारीहरूसँग व्यापार सहज बनाउन आग्रह गरेका थिए। बैठकमा चीनको प्रतिनिधित्व उप-मन्त्री वान्ग लिङजुनले गरेका थिए।
नेपालले थर्मल रूपमा प्रशोधित राँगाको मासु, भैँसीको कार्टिलेज, घ्यु, नौनी, वटर, छुर्पी, हेलेज–साइलेज, कुखुराको मासु, तरकारी, फलफूल, चिया, कफी र जडीबुटी निर्यातमा सुविधा चाहिएको बताएको छ।
वर्तमानमा नेपालबाट चीन निर्यात हुने कृषि वस्तुको संख्या ३४ प्रकार, ६१ कम्पनीहरू मार्फत भइरहेको छ भने हरियो घाँस (हेलेज) पाँच कम्पनीद्वारा निर्यात भइरहेको छ।
चिनियाँ उप-मन्त्री वाङले “छिमेकी मुलुकको हैसियतमा नेपाललाई उच्च प्राथमिकता दिएका छौं,” भन्दै, “एकतर्फी प्रयत्न पर्याप्त छैन, दुबै देशको संयुक्त प्रयासबाट व्यापार सहजीकरण गर्न हामी तयार छौँ” बताए।
नेपालले बैठकमा क्वारेन्टाइन मापदण्ड र मुक्त क्षेत्र घोषणा जस्ता आधारभूत सर्तहरू समेत लचीला बनाउने माग गरेको र चीनले द्विपक्षीय संयुक्त संरचना स्थापना गर्ने प्रस्तावमा सहमति जनाएको छ।
बैठकमा नेपालका तर्फबाट सचिवस्तरीय प्रतिनिधिहरू सहभागी थिए।