२०८३ भाद्र ३१ बुधबार

चाडपर्व नजिकिँदै गर्दा रसुवा र तातोपानी नाका तत्काल खुलाउन चेम्बर अफ कमर्सको आग्रह

ई आर्थिक    मंगलबार, भाद्र १० २०८२
6.2K
Shares
चाडपर्व नजिकिँदै गर्दा रसुवा र तातोपानी नाका तत्काल खुलाउन चेम्बर अफ कमर्सको आग्रह

ई-आर्थिक, काठमाडौं ।  नेपाल चेम्बर अफ कमर्सले बाढी र पहिरोका कारण बन्द रहेका रसुवा र तातोपानी नाका यथाशिघ्र सञ्चालनमा ल्याउन सरकारसँग माग गरेको छ।

गत असारमा आएको भारी वर्षा र बाढीले यी दुई प्रमुख नाका अवरुद्ध बनाएपछि आयात-निर्यातमा गम्भीर समस्या उत्पन्न भएको भन्दै चेम्बरले सरकारलाई आवश्यक पहल गर्न आग्रह गरेको हो।

चाडपर्व नजिकिँदै गर्दा नाका बन्द रहेमा लत्ताकपडा तथा दैनिक उपभोग्य वस्तुको आपूर्ति प्रभावित भई बजारमा अभाव र मूल्यवृद्धि हुने जोखिम रहेको चेम्बरले जनाएको छ।

परराष्ट्र, अर्थ, गृह, भौतिक पूर्वाधार तथा यातायात र उद्योग वाणिज्य मन्त्रालयको ध्यानाकर्षण गराउँदै चेम्बरद्वारा जारी विज्ञप्तिमा भनिएको छ,

“दशैं, तिहार र छठजस्ता ठूला पर्व नजिकिँदै छन्। तातोपानी र रसुवा नाका समयमै सञ्चालनमा नआए उपभोक्ताले अनावश्यक आर्थिक बोझ बेहोरनु पर्नेछ।”

चीनसँगको व्यापारिक आवागमनका लागि महत्त्वपूर्ण मानिएका यी नाका लामो समय बन्द हुँदा साना उद्योग तथा व्यवसायिक प्रतिष्ठानहरू संकटमा परेका छन्।

चेम्बरले यस समस्या समाधानका लागि नाका पुनर्निर्माणको कामलाई शीघ्र प्राथमिकता दिन सरकारसँग आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

चर्चित

ताजा अपडेट








© 2026 All right reserved to earthik.com | Site By : Sobij